Logo

राष्ट्रिय ललितकला प्रदर्शनीमा ५२२ कलाकृति समावेश



काठमाडौँ, १४ जेठ ।गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् ।

कोसीबाट ४२ कलाकारका ४३, मधेसबाट ५७ कलाकारका ६१, बागमतीबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकीबाट ४२ कलाकारका ४६, लुम्बिनीबाट ७० कलाकारका ७०, कर्णालीबाट २३ कलाकारका २८ र सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति प्रदर्शनीमा रहने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जानकारी दिएको छ ।

साथै अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश गरिने प्रदर्शनी प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले जानकारी दिए । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

गत फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइएको उपकुलपति लामाले बताए । उनका अनुसार प्रदर्शनीको प्रवर्द्धककारुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

उपकुलपति लामाले प्रादेशिकरूपमा पहिलोपटक गरिएको प्रदर्शनीबाट छनोट भएका कलाकृतिसँगै अप्रतियोगी कलाकृतिलाई समेत समेटेर हुन लागेको यसपटकको प्रदर्शनी विशेष र फरक हुने बताए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस प्रदर्शनी राज्यको सङ्घीय अवधारणाअनुसार सुरुमा प्रादेशिक ललितकला प्रदर्शनी–२०८० गरी त्यहाँबाट छानिएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेटिएको बताए । उनका अनुसार दुई चरणको छनोटबाट उत्कृष्ट कृतिहरु समावेश भएका छन् ।

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ प्रादेशिक प्रदर्शनीमार्फत छानिएका कलाकृति समावेश गरेर राष्ट्रिय ललितकला प्रदर्शनी गर्न लागिएको भन्दै कुलपति हार्तम्छालीले यो पहिलो अभ्यास रहेको बताए । प्रदर्शनीबाट यसको प्रभावकारिता बढी देखिए आगामी वर्षमा पनि यसरीले कलाकृति छनोट गरी प्रदर्शनी गरिने भन्दै यसले सबै तहका कलाकारको सम्मान पनि हुने धारणा राखे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा देशका सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति देख्न पाइने बताए । कला क्षेत्रको पुनर्जागरणका लागि प्रतिष्ठानले स्थानीय तहमै पुगेर काम गरिरहेको उनको भनाइ छ ।

मानन्धर र श्रेष्ठलाई अरनिको सम्मान

यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा–सम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र अग्रज कलाकार श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार)लाई प्रदान गरिने भएको छ । उक्त सम्मान तथा पुरस्कारको राशि जनही एक लाख ५० हजार रहेको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिनेछ । सो पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ । प्रतिष्ठानले यसपटक विभिन्न विधामा गरी ६६ वटा पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानका सदस्य सचिव काफ्ले जानकारी दिए । उनका अनुसार यसपटक प्रदेशगतरुपमा कलाकारले हरेक विधाबाट पुरस्कार पाउने छन् ।

प्रदर्शनीमा ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ ।

ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्रका पत्रकार ‘सुकृत नेपाल र द राइजिङ नेपाल’की रेनुका ढकाललाई प्रदान गरिने छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार रहेको छ । कला प्रवर्द्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिने प्रतिष्ठानका कुलपति हार्तम्छालीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष थपिएको विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार कोसीबाट अभिषा घिमिरे (इलाम), मधेसबाट आरतीकुमारी साह (महोत्तरी), बागमतीबाट रमिता तामाङ (काभ्रे), गण्डकीबाट सपना नेपाली, (कास्की), लुम्बिनीबाट सोनु हरिजन (रुपन्देही) र सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी (धनगढी) लाई प्रदान गरिने छ । सो पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ ।

यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिने छ । दुवै पुरस्कारको राशि जनही रु ५०/५० हजार र सम्मानपत्र रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot