काठमाडौं, २७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम वर्तमान सरकार संसद्लाई पन्छाएर अध्यादेशमार्फत शासन–सत्ता सञ्चालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख रहेको टिप्पणी गरेकी छिन् । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सांसद गौतमको यस्तो भनाई आएको हो ।
उनले अहिले जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद् तालाबन्दीमा रहेको टिप्पणी गरेकी छिन् । मंसिरमै संसद् अधिवेशन आह्वान हुनुपर्नेमा सरकारले त्यसो नगरेकोमा उनको आक्रोश छ । गौतमले फेशबुकमा लेखेकी छिन्–
मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ । मंसिरमै संसद अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झक्झक्याउन सकेको छैन। सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता संचालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ। हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।