Logo

सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा



भदौ ७, काठमाण्डौ । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको विषयलाई लिएर कञ्चनपुरमा दैनिक आन्दोलन चर्किन थालेको छ ।

मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै पीडितका परिवार, आफन्त र स्थानीयले प्रहरी प्रशासनविरुद्ध आन्दोलन चर्काएका हुन् ।

प्रहरीले मानसिक रूपमा असन्तुलित दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि स्थानीयबासी आक्रोषित बनेका हुन् । उनीहरुले वास्तविक अभियुक्त लुकाएर नक्कली व्यक्तिलाई दोषी बनाउन खोजिएको आरोप लगाएका छन् ।

उनीहरूले घटना सुरु भएको स्थलबाट अनुसन्धान सुरु हुनुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी कुमार खड्काको प्रतिबद्धतापछि उनी पढ्न गएको घरका दिदीबहिनी हत्याकाण्डको दायरामा आएका छन् । उनीहरूमाथि अनुसन्धान हुने प्रजिअ खड्काले आश्वासन दिएका छन् ।

उनीहरूलाई पनि अनुसन्धानमा तान्नुपर्ने भन्दै भएको प्रदर्शनका क्रममा भएको झडपका कारण महेन्द्रनगर बजार क्षेत्र दिनभरि तनावग्रस्त हुन पुग्यो । आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरेपछि झडप भएको हो ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

मानसिक रूपमा अस्वस्थ दिलीप विष्टलाई मानिसक रूपमा ठीक रहेको फरेन्सिक प्रमाणपत्र ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्ला न्यायाधिवक्ताले यस्तो व्यक्तिलाई सामान्य मानिससरह बयान लिन नमिल्ने र दिलीपको बयान लिनुअघि प्रहरीले जिल्ला न्यायाधिवक्तासमक्ष उनको मानसिक स्वास्थ्य ठीक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

यो प्रयास असफल भएपछि प्रहरी डिएनए परीक्षणतर्फ अगाडि सरेको छ । जसको रिपोर्ट आउन केही साता लाग्ने भएकाले त्यतिवेलासम्म आन्दोलन साम्य हुने प्रहरीको आकलन रहेको छ । सोही योजनाअनुसार डिएनए परीक्षणको प्रक्रिया सुरु गरिएको आरोप स्थानीयले लगाएका छन् ।

बालिका हत्याको घटनामा समातिएका व्यक्तिका विषयमा पीडित परिवारले नै प्रहरी अनुसन्धानमाथि असन्तुष्टि जनाएपछि प्रहरीले डिएनए परीक्षण गर्ने तयारी गरेको हो । आन्दोलनलाई साम्य पार्न र पीडित परिवारलाई आश्वस्त पार्न डिएनए परीक्षण गर्न लागिएको हो ।

यता, सुरुदेखि नै शंकाको घेरामा रहेका विष्टले पक्राउ परेपछि कसरी निर्मलाको हत्या गरेका थिए, त्यसबारेसमेत प्रहरीलाई बताएका छन् । प्रहरीसँगको बयानमा उनले आफू मार्सल आर्टको खेलाडी भएको र निर्मलाको किलकिले थिचेर हत्या गरेको बताएका छन् ।

बलात्कारअघि बाटोमा भेटिएकी निर्मलाको साइकलको चेन बनाइदिएको, त्यसपछि बलात्कार गरेको र त्यसको पोल खुल्ने डरले हत्या गरेको प्रहरीलाई बताएका छन् । १० साउनमा साथीको घरमा किताब लिन गएकी १३ वर्षीया बालिकाको फर्कने क्रममा बलात्कार गरी हत्या गरेको अवस्थामा शव भोलिपल्ट भेटिएको थियो ।

कञ्चनपुरको आन्दोलन चर्केर उग्ररूप लिन थालेपछि प्रदेश–७ प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई त्यहाँ खटाएको छ ।



प्रतिक्रिया दिनुहोस्