भदौ २३, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
दिल्लीस्थित प्रधानमन्त्री मोदी निवासमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र सहयोगबारे चर्चा भएको थियो । मोदीसँगको भेटपछि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले भारतका प्रधानमन्त्री मोदी नेपालको विकासका लागि तत्पर रहेको बताएका थिए । दिल्लीमै रहेका पत्रकार धमलासँग कुरा गर्दै दाहालले मोदीसँगको भेटले नेपालको विकास नै मोदीको पनि चाहना रहेको आफूले अनुभूति गरेको बताएका छन् ।
दाहालले मोदीसँगको भेटमा नेपाल र भारतबीच धार्मिक पर्यटन विकासलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए । छलफलका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पाथिभरादेखि मुक्तिनाथसम्म भारतीय पर्यटक घुम्न सक्ने बनाउन आग्रह गरेका थिए । त्यसैगरी वुद्ध सर्किट निर्माण गर्ने कुरामा पनि छलफल भएको दाहालले बताए ।
भारतले नेपाललाई गर्ने भनेको सहयोग कार्यान्वयन गर्ने विषयमा मोदीले आश्वस्त पारेको दाहालले बताए । त्यसैगरी विमस्टेक राष्ट्रका सेनाले गर्ने भनेको सैन्य अभ्यासबारे भारतीय पक्षले चासो राखेको दाहालको दावी छ । नेपालको पछिल्लो घटनाक्रमबारे कुरा गर्दै दाहालले मन्त्रीमण्डल फेरबदल गर्ने कुरा प्रधानमन्त्रीको अधिकारभित्र रहेको बताए ।
प्रधानमन्त्री ओलीले गर्ने निर्णय आफूलाई मान्य हुने दाहालले बताएका छन् । दाहालले आजै भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र भाजपाका महासचिव सिताराम यचुरीसँग पनि भेटेका थिए ।