Logo

प्रधानमन्त्री ओलीद्धारा ऋषि धमलाको प्रशंसा (भिडियोसहित)



काठमाडौं, १७ चैत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै क्लबका सभापति ऋषि धमलाको खुलेर प्रशंसा गरेका छन् ।

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ :

यस समारोहका अध्यक्षता गरिरहनुभएका रिपोर्टर्स क्लबका अध्यक्ष सुपरिचित पत्रकार ऋषि धमलाजी, पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष मेरा आदरणीय मित्र पुष्पकमल दाहाल प्रचण्डज्यू, मञ्चमा आसिन मन्त्रीज्यूहरु, विभिन्न पार्टीका नेताज्यूहरु, नेपालका लागि महामहिम भारतीय राजदुत मञ्जिभसिंह पुरी, विभिन्न विजनेस सेक्टर लगायत गैरआवासीय नेपालीहरुको समेत प्रतिनिधित्व गर्ने प्रवुद्ध साथीहरु र यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण आज पुस्कृत र सम्मानित हुनुभएकासमेत दाजुभाई तथा दिदिबहिनीहरु;

एउटा खुशीको कुरा हो, रिपोर्टर्स क्लब नेपाल आज बीस वर्ष पुरा गरेर २१ वर्षमा प्रवेश गरेको छ । यो यात्रा उतारचढावको बीचको यात्रा रहेको थियो । यस बीचमा रिपोर्टर्स क्लबले अप्ठ्यारा पस्थितिहरु, देशका अप्ठ्यारा परिस्थिति र आफ्ना लागिपनि अप्ठ्यारा परिस्थिति देख्यो र झेल्यो । आज देशलेपनि अनुकुल अवस्था प्राप्त गरेको छ । र, रिपोर्टर्स क्लब पनि अप्ठ्याराहरुबाट अलिक मुक्त भएर २१ औं वर्षमा प्रवेश गरेको छ । म रिपोर्टर्स क्लबलाई बीस वर्ष पूरा गरेर २१ वर्षमा प्रवेश गर्दै गरेको यस अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु । खासगरी ऋषि धमला । रिपोर्टर्स क्लबको जन्म, अस्तित्व र विकास सबै चीज वास्तवमा ऋषि धमलाकै वरिपरि घुमेको छ ।

रुख भेट्टायो भने माथि त लहरोपनि चढ्छ । तर, ऋषि धमला रुख भेट्टाएर वा थाक्रो लगाइदिएर माथि चढेको होईन । आँफै उभिन सिकेको र आँफै बलियो जरा गाडेर उभिएको एउटा पत्रकार हो । आफूलाई जमिनबाट विकास गरेर अगाडि बढाएको व्यक्तित्व । ऋषि धमलाको पुर्खाको परिचय, अग्रजको योगदान, कसैले उकेरा लगाइदिएर, कसैले अनुकुल वातावरण बनाईदिएर विकास गरेको होईन । प्रतिकुलतासँग जुधेर विकास गरेको एउटा व्यक्तित्व । जसले वास्तवमा हावापानी झेलेको छ । दुःखकष्ट झेलेको छ । मान/अपमान सहेको छ । र, ती सबै कुराहरुलाई पार गरेर आज एउटा परिचित, र यस्तो परिचित कसैलाई मन पर्दैन भनेपनि फेरि ऋषि धमला । मन परेपनि नपरेपनि । त्यो विहान उठ्नेबित्तिकै हामीले मञ्जन गर्नुपर्छ । ब्रस मन परोस कि नपरोस । मञ्जन मन परोस कि नपरोस । त्यो त ब्रस त गर्नै पर्यो । ऋषि धमला पत्रकारिता क्षेत्रको त्यस्तै होस । कसैलाई मन परोस कि नपरोस, ऋषि धमला छाएकै हुन्छ । त्यो ऋषि धमलाको विशेषता हो । अलिकपति जबरजस्त स्वभाव छ । त्यति जबरजस्ती नगर्ने हो भने ऋषि धमलालाई उहिल्यै नै कुन कुनामा कसले पछाडि फ्याँकिदिसकेको हुन्थ्यो ।

कहिले-कहिले ऋषि धमलालाई आरोप आउँथ्यो । सँधै टिभीमा देखिन आउँछ भनेर । टिभीमा देखिन आउने होईन, अब ऋषि धमला । होला एउटा जमाना थियो होला, अब ऋषि धमलाको पछाडि टिभी लाग्नुपर्ने अवस्था छ । त्यो परिचयन मेहनत र परिश्रमले, जबरजस्त संघर्षले ऋषि धमलाले प्राप्त गरेको छ । र, म यस सफलताका लागि विशेषगरेर ऋषि धमलालाई हार्दिक बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । आगामी दिनमा । अब त पहिचान, परिचय बनिसक्या छ । र, नेपालको पत्रकारितामा त रिस उठ्यो भन्यो गएर बोल्ने ठाउँ पनि ऋषि धमलाको रिपोर्टर्स क्लब । कसैलाई रिस उठ्यो भने…जाउँ त रिपोर्टर्स क्लब भन्ने । घरमा झगडा भयो भनेपनि जाउँ त क्लब । यो धम्की र घुर्की लाउने ठाउँपनि भैसकेको छ । यति व्याप्त भैसक्यो यो । कसैको श्रीमान श्रीमतिको झगडा परेछ भनेपनि रिपोर्टर्स क्लबबाटै थाहा पाईन्छ । त्यहाँ आएर, बोल्दिउँ म । जाउँ त भनेपछि थर्कमान हुनुपर्ने । होईन होईन, नगईदेउ त्यहाँ चाहीँ । त्यो खालको एउटा । अघि ऋषि धमलाले भनेजस्तै पत्रकारितामा एउटा सशक्त ब्राण्ड हो रिपोर्टर्स क्लब । ब्राण्ड हो ऋषि धमला । ऋषि धमलाले बोलेका कुराहरु पनि प्रोगाम बन्छ । भन्नुस नेताज्यू, जनता जान्न चाहन्छ । अब जनता जान्न चाहन्छ एउटा कार्यक्रम नै भयो । धमलाको स्वभाव छ, हमला गर्ने । भन्नुहोस त्यो किन भएन ? धमलाको हमला अर्को कार्यक्रम । यो ऋषि धमलाको आफ्नोपनको, आफ्नो विशेषताको यो एउटा पहिचान पनि हो । र, त्यो अपरिहार्यताको, व्याप्तताको र वास्तवमा छाएको भन्छ नि । नेपालको पत्रकारितामा ऋषि धमला छाएको हो । मुर्धन्य पत्रकार धेरै हुनुहुन्छ । चित्त नदुखाउँदा हुन्छ । धेरै मुर्धन्य पत्रकार हुनुहुन्छ । तर, ऋषि धमला बढि छाएको अवस्था छ । छाएकै हो । सरकारी टेलिभिजन, सरकारी रेडियो, स्थापित कुनै मिडियालाई प्रयोग गरेर, त्यसको माध्यमबाट पसेर निस्किन पाएको होईन, ऋषि धमला । आफ्नो तरिकाले, आफ्नो बुद्धिले, आफ्नोपनले, आफ्ना प्रयासले अगाडि बढेको र सकारात्मक भूमिकाका साथ अगाडि बढेको हो । त्यही कारणले आज रिपोर्टर्स क्लब बीस वर्ष सफलताका साथ पूरा गरेर २१ औं वर्षमा प्रवेश गरेको छ ।

आज रिपोर्टर्स क्लबबाट विभिन्न क्षेत्रमा विभिन्न विधामा विभिन्न योगदान पुर्याउने महानुभावहरु सम्मानित हुनुभएको छ । प्रशंसित हुनुएको छ । पुरस्कृत हुनुभएको छ । मैले ठानेको छु, सबै योग्य र आफ्ना ठाउँमा विशेष ढंगले योगदान गरेका मान्छेहरु पुरस्कृत हुनुभएको छ । पुरस्कारयोग्य थुप्रै हुनुहुन्छ । सबैलाई पुरस्कार दिन सम्भव पनि हुँदैन् । सबैलाई दियो भने पुरस्कारको अर्थ हुँदैन् । त्यसकारण छनौट गर्नुपर्यो । छनौट गर्नु सजिलो काम होईन । तरपनि उपयुक्त छनौट गरेको, मलाई त्यसमा खुशी लागेको छ । र, पुरस्कृत महानुभावहरुलाई म बधाई भन्न चाहन्छु ।

आज नेपाल नयाँ आत्मविश्वास, नयाँ उत्साह लिएर अब पहिलेकोभन्दा अलिक नयाँ अभियान, पहिलेकोभन्दा अलिक फरक आन्दोलन, पहिलेका भन्दा फरक यात्राहरुमा निस्किएको छ । पहिले हामी अधिकार प्राप्तिका, राजनीतिक लडाईका आन्दोलनमा हुन्थ्यौं । अब ती प्राप्त भैसकेका छन् । ती टुँग्गिएका छन् । ती संस्थागत भएका छन् । र, आज हामी अब नयाँ आत्मविश्वासका साथ, यसकारणपनि नयाँ आत्मविश्वास कि हामीले पहिले पहिले आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न सकेनौं । ठूला कमजोरी हाम्रा ती रहे । हामीले तीनको रक्षा गर्न सकेनौं । ०७ सालको आन्दोलनमा पनि रक्षा गर्न सकेनौं । पछि पनि रक्षा गर्न सकेनौं ।

जब जब आन्दोलन हुन्छ, हामी अगाडि बढ्छौं । तर, फेरि अलिकति समयपछि हाम्रा उपलब्धिहरु फेरि खोसिन्छन् । फेरि जान्छन । २०४६ सालको पनि त्यही हो । आश्विन १८ र माघ १९ भन्ने ठाउहरुतिर आईपुग्दा त ०७ सालभन्दा पछाडि फर्किएला कि जस्तोगरि पछाडि फर्काउन खोजियो । यद्धपी असम्भव थियो । हामीले भन्यौं असम्भव छ । तर, फर्काउन खोजियो । ती सबै कुराहरुबाट अगाडि बढ्यौं । द्धन्द्ध व्यवस्थापन गर्यौं । निरंकुशतन्त्र, सामन्तीतन्त्र पराजित गर्यौं । जनताले बनाएको संविधानबाट, संविधानले परिकल्पना गरेका संरचनाहरु तयार गरेर । होला हाम्रा बाटाहरु बांगाटिंगा रहे । हामीले उतारचढावहरु झेल्न पर्यो । तर, यसपल्ट विगतका पनि अनुभवहरुलाई लिएर हामीले देशलाई पछाडि फर्किन नदिने वा हाम्रा सफलताहरुलाई खेर जान नदिने अठोट गर्यौं । र, तीनीहरुलाई संस्थागत गरिसक्यौं । नेपाली जनताको मनोवल उठ्नाको एउटा कारण त्यो हो । हामीले अनेक कुराहरुको समाधान गर्यौं । समाधान गर्दै आयौं । सहज ढंगले हामीले द्धन्द्ध व्यवस्थापन गर्यौं । सहज ढंगले सामन्तीतन्त्रलाई पराजित गर्यौं । बलिानपूर्ण र कष्टपूर्ण त थिए नै । तरपनि कतिपय ठाउँमा सफल हुँदैन् । सफल भयो भने त्यसलाई संस्थागत गर्न र परिस्थितिलाई रुपान्तरण गर्न शक्ति आउँदैन । तर, हामीले ती चीजहरु पनि, र अब हाम्रो काँधमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा छ । यो हामीले बनाउने हो । हामी नेपालीले बनाउने हो । हामी सक्छौं । तर, हामी एक्लैले बनाउँदा विलम्ब हुन्छ । त्यसकारण हामीले भन्ने गरेका छौं । हाम्रा मित्रहरु, हाम्रा सहयोगीहरुसँग हामी सहकार्य गर्छौं । हाम्रो कसैसँग कटुता छैन । दुश्मनी छैन् । असमझदारीहरु हामी कुराकानीबाट हटाउँछौं । कसैसँगपनि हाम्रो असमझदारी छैन् । छिमेकीहरुसँग छैन । अरु मित्रहरुसँग छैन । र, हामीले एउटा अनुकुल वातावरण बनाएका छौं । सार्वभौम र समानताका आधारमा, साँच्चै स्वाधिन राष्ट्रको हैसियतमा हाम्रा आन्तरिक नीतिहरु परिचालनदेखि बाहृय नीतिहरुको परिचालन सम्बन्धमा पनि स्वाधिन राष्ट्रको हैसियतमा गरिरहेका छौं ।

हामी हाम्रो देशभित्र विभिन्न नाउँमा चलाउन खोजिएका, जनताका बीचमा द्धन्द्ध मच्चाउन खोज्ने, फाटो लगाउन खोज्ने, र आन्तरिक लडाईलाई मच्चाईदिन खोज्ने, जातका नाउमा, भूगोलको नाउमा, भाषाका नाउमा, अनेक नाउमा हामीलाई लडाउन खोज्ने प्रयासहरुलाई हामीले पराजित गरेका छौं । भूगोलका नाउमा पृथकताका सोचहरु, प्रयासहरु तिनीहरुलाई हामीले अन्त्य गरेका छौं । र, देश अब पृथकतावाद नभएको, टुक्रयाउँछु भन्ने माग नरहेको एउटा सवल, सुदृढ अवस्था पुगेको छ । अब हाम्रा विकासका प्रयास एकजुटताका साथ अगाडि बढेका छन् । हिजो बेलुकामात्रै हामीले अन्तर्राष्टिय लगानी सम्मेलन अत्यन्तै उत्साहपूर्ण र उपलब्धिपूर्ण ढंगले सम्पन्न गर्यौं । त्यसमा हाम्रो सम्पूर्ण राष्टिय ऐक्यबद्धता, राष्ट एक ठाउँमा रह्यो । एकजुट रह्यो । राष्ट्रका सम्पूर्ण प्रयास एक दिशामा, एक आवाजका साथ एकै ढंगका पाईलाहरुका साथ अगाडि बढेको सन्देशपनि हामीले त्यसमार्फत दियौं ।

हाम्रा सम्पूर्ण तहरु सरकारका, केन्द्रिय, प्रदेश र स्थानीय तहहरुका बीचका संविधानका अनुसुचिहरुले निर्धारण गरेका र अरु अधिकारका, स्रोतहरुका, कर्तव्यका वा अन्य जिम्मेवारीहरुको विभिन्न बाँडफाँडहरु । त्यसको व्यवस्थापन सजिलो कुरा होईन । समायोजन सजिलो कुरा होईन । तर, हामीले यी सबै कुराहरुलाई सहजताका साथ सम्पन्न गरेका छौं । मैले अगाडिपनि भनेको छु । हामीले कानूनहरु निर्माण गरेका छौं । निर्देशनहरु निर्माण गर्यौं । अनेक कुराहरु निर्धारण गरेर अब आधार तयार भएको छ । जुन आधारमा संविधान कार्यान्वयन हुन्छ । संविधान आँफै कार्यान्वयन हुँदैन । यसका लागि कानून चाहिन्छ । संविधान कार्यान्वयनको लागि चाहिने कानूनहरुदेखि लिएर संरचना निर्माण गर्नेदेखि लिएर तीनको सुव्यवस्था गर्नेतर्फ हामीले सफलता प्राप्त गरेका छौं ।

र, म नेपालको सञ्चारमाध्यमलाई यस सन्दर्भमा हार्दिक धन्यवाद भन्न चाहन्छु । लोकतन्त्र प्राप्तिका निम्ति सञ्चार माध्यमको असाधारण भूमिका रह्यो । लोकतन्त्र रक्षाका निम्ति सञ्चारमाध्यम अत्यन्त सजग र क्रियाशिल रह्यो । र, लोकतन्त्रलाई सुदृढ गर्ने र लोकतन्त्रलाई वास्तवमा जनताको समग्र जीवनसँग सम्बन्धित ढंगले सम्पूर्ण लोकतन्त्र, परिपूर्ण लोकतन्त्र त्यस दिशातर्फ, जहाँ पछौटेपन, गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी या अस्वस्थताका स्थितिहरुको अन्त्य गरेर हामी पूर्वाधारलगायत सम्पूर्ण क्षेत्रको विकास गर्छौं । र, नेपाललाई एउटा साँच्चैको समृद्ध नेपाल बनाउँछौं । त्यो नेपाल समृद्धमात्रै हुँदैन, त्यो नेपाल एउटा सुसम्पन्न, सभ्य, समतामूलक, सामाजिक न्यायसहितको सूरक्षायुक्त र हरेक नागरिकले सम्मानयुक्त जीवन पाउन सक्ने त्यो नेपाल हुन्छ । त्यो नेपाल बनाउने अभियानमा हामी अगाडि बढेका छौं । र, यतिवेला सञ्चारमाध्यमको यस दिशामा सकारात्मक योगदान र अत्यन्तै महत्वपूर्ण योगदान हुनुपर्दछ । यतिवेला हामीले पक्ष/विपक्षको हिसाबबाट सोचेर सत्यलाइ असत्य र असत्यलाई सत्य भन्ने बेला छैन् । प्रतिष्पर्धालाई अस्वस्थ ढंगले सञ्चालन गर्ने बेला छैन् । जसरीपनि विरोध गर्नुपर्ने वा जसरीपनि समर्थन गर्नुपर्ने बेला होईन । सही ढंगले हामी अगाडि बढ्नुछ । सही ढंगले अगाडि बढ्नको लागि सकारात्मक सोचका साथ अगाडि बढ्ने वातावरण हामीले निर्माण गर्नुछ ।

सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालहरुमा प्रस्तुत हुने हाम्रो युवा पिढीलाई म भन्न चाहन्छु-हामी अत्यन्तै संसारका सबभन्दा बढि सभ्य पूर्खाका सन्तानहरु हौं । विकसित पूर्खाका सन्तानहरु हौं । जो बाँकी दुनियाँ अन्धकारमा हुँदा यहाँ ज्ञान, विज्ञान र सभ्यता धेरै माथि पुगेको थियो । त्यो पूर्खाका सन्तान हामी हौं । हामीले आफ्नो समाजको, आफ्नो ईतिहासको, आफ्नो सभ्यताको, सभ्यताको विकासक्रमको, सभ्य परम्परा, सु संस्कृत परम्परा र त्यो गौरवलाई भूल्नु हुँदैन । बरु, मजबुद बनाउनुपर्छ । हामी परम्पराभन्दा खराब खराब कुरालाई परम्परा भन्ने ठान्ने, पछौटेपनलाई परम्परा भन्ने ठान्ने, र गौरवपूर्ण कुराहरु जो अगाडि बढाउनुपर्छ, हाम्रा सभ्यताका, हाम्रा संस्कृतिका, हाम्रा पूर्खाका गौरवपूर्ण उपलब्धिहरु, हो ती कुराहरुलाई बिर्सने गल्तीहरु गर्नुहुँदैन् । त्यसकारण म आग्रह गर्न चाहन्छु यतिवेला कि हामी राष्टनिर्माणको महाअभियानमा जुटिरहेका बेला हामी सबैका योगदानहरु सकारात्मक हुन जरुरी छ । र, राष्ट्र निर्माणको यस अभियानमा कुनैपनि प्रकारको नकारात्मक भूमिका, कसैप्रतिको अनुचित विरोध त्यो हामी होशियार हुनुपर्दछ ।

राष्ट्र निर्माणको, राष्ट्र विकासको कुनै प्रयासमा त्यसले भ्रम सिर्जना नगरोस । अन्यौल पैदा नगरोस । त्यस कुरामा हामी सजग हुनुपर्दछ । म सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । खासगरी रिपोर्टर्स क्लबको वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबको भूमिका, यसले विगतमा महत्वपूर्ण भूमिका खेलिआएको छ । म प्रशंसा गर्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा अझ बढि सशक्त, प्रभावकारी भूमिका रिपोर्टर्स क्लबले र यससँग सम्वद्ध सबै पत्रकार दाजुभाई दिदिबहिनीहरुले र सिँगै सञ्चारमाध्यमले राष्ट्र निर्माणमा सकारात्मक भूमिका र योगदान पुर्याओस भन्ने आग्रहपनि गर्न चाहन्छु । अन्त्यमा, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाजीलाई यो सफल अभियानको नेतृत्व गरेकोमा बहुतै बधाई भन्न चाहन्छु । धेरै-धेरै बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । तपाईको यो पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका अझै प्रभावकारी हुँदै झन अगाडि बढ्दै जाओस् । मलाई आमन्त्रण गर्नुभयो । धेरै-धेरै धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्