Logo

निगमका पाँच पाइलटको नक्कली प्रमाणपत्र



नेपाल एयरलाइन्सको ठूला विमान चलाउन ल्याइएका पाँच जना पाइलटहरुको नक्कली प्रमाणपत्र भेटिएको छ । पाइलट कोर्स लिनका लागि दश जोड दुईमा विज्ञान विषय अनिवार्य हुनुपर्ने नियम भएकाले उनीहरुले विदेशबाट नक्कली प्रमाणपत्र लिएर कोर्स पूरा गरेको भेटिएको हो ।
रिपोर्टर्स नेपाल डटकमले ती पाइलटहरुको प्रमाणपत्र भारतका विभिन्न बोर्डबाट ल्याइएको भेटेको छ । उनीहरुको प्रमाणपत्र शंकास्पद भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको छ ।

 

२७ चैत्र २०७५ मा परेको उजूरीको दर्ता नम्बर २२९८८ रहेको छ । अख्तियार स्रोतका अनुसार उजूरीमाथि छानविन भइरहेको छ । रिपोर्टर्स नेपाल डट कमले नागरिक उड्डयनको संवेदनशीलतालाई मध्यनजर गरी ती पाइलटहरुको नाम सार्वजनिक नगरेको हो ।

नेपाल वायु सेवा निगमले ठूला विमानका लागि नयाँ पाइलटहरुलाई नियुक्ति दिएको थियो । विदेशमा पाइलट कोर्स पूरा गरेका आएकामध्ये केहीको दश जोड दुईको प्रमाणपत्र नक्कली भएको आशंका रहेपनि निगमले त्यसबारे बेवास्ता गरेको थियो ।

 

निगमका एक अधिकारीलाई नक्कली प्रमाणपत्रधारीलाई किन पाइलटको नियुक्ति दिएको भनी सोध्दा त्यसबारे कुनै जानकारी नभएको बताए । अख्तियारमा ती पाइलटहरुको नक्कली प्रमाणपत्रबारे उजूरी परेकोबारे सोध्दा निगमका अधिकारीले भने,‘यसबारे बुझेर खबर गर्नेछु ।’

 

दश जोड दुईको नक्कली प्रमाणपत्रको आधारमा डाक्टर र पाइलट बनेको घटना विगतमा सार्वजनिक भएको थियो । तर, नक्कली प्रमाणपत्रधारीले सफाई पाएपछि झनै उत्साही भएका थिए ।



प्रतिक्रिया दिनुहोस्