धादिङ‚ भदौ १९ । प्रहरीले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मानव बेचविखन बिरुद्धको १३औँ राष्ट्रिय दिवस २०७६ को अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचविखनको अवस्था‚ रोकथाम लगायतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम १७ भदौमा सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा मानव बेचबिखनको अवस्था, रोकथाम लगायतका विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।कार्यक्रममा धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा‚ जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार‚ जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु‚ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र काठमाडौंका डा.प्रेम राज वैद्य, लेजर थेरापि क्लिनिक जावलाखेल काठमाडौंका डा. सुशिला वैद्य, समुदाय – प्रहरी साझेदारीका जिल्ला, पालिका, वडा, टोल समितिका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, जेष्ठ नागरिक, संचारकर्मी, स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय धादिङ मातहतका इकाइहरु समेतमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल,अन्तरक्रिया एवम् जनचेतनामूलक कार्यक्रम १७ भदौमा संचालन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।