Logo

विराटनगरमा सुरक्षा गोष्ठी भव्यताकासाथ सम्पन्न



विराटनगर, ३० भदौ । बिराटनगरमा नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशद्वारा संयुक्त रुपमा आयोजित १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी २९ भदौमा सम्पन्न भएको छ । २८ भदौमा सुरु भएको उक्त गोष्ठी प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मुख्यमन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको उल्लेख गर्दै विभिन्न खालका अपराधिक घटनामा कमी आएको बताए । शान्ति सुरक्षामा खलल र्पुयाउने कसैलाई पनि छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनि कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन उनले निर्देशन दिएका छन् । राम्रो कामका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तत्पर रहेको उनले बताए ।

कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जनताको चाहना बमोजिमको सुरक्षा रणनीति अबलम्बन गर्नुपर्ने हुँदा सोही अनुसार कानूनी परिधिभित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउनुपर्ने आजको आवश्यकता रहेको बताए । समुदाय – प्रहरी साझेदारी कार्यक्रमले अगाडि सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनि सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा व्यक्त गर्दै उनले समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गरे ।

सोही अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताए । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उनले उल्लेख गरेका थिए ।

गोष्ठीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी, १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको प्रहरीले जनाएको छ । सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्