Logo

मदिरा नियन्त्रणले स्थानीयवासी खुशी



सप्तरी, १२ असोज । एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर छ-सात जनाको टोली सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा गाउँ पस्यो । उनीहरुको हातमा लाठी र बन्दूकको साटो डायरी, कलम र वाकीटकी थियो ।

गाउँका सबैजना उठिसकेका पनि थिएनन् । केही घरमा भने उज्यालो हुन नपाउँदै चुल्हो बलिसकेको थियो । ती घरहरुबाट झिसमिसे बिहानैदेखि ह्वास्स गन्हाउने दुर्गन्ध निक्लिरहेको थियो । गाउँको बीच चौकमा पुगेका प्रहरीहरु आपसमा कुरा गरिरहेका थिए । प्रहरी गाउँमा आएको देखेर केही युवा भेला भए । “ठिक समयमा आए, बिहानैदेखि सासै फेर्न गा¥हो हुन्छ, अब अति भयो,” त्यसमध्येका एक युवकले औंलाले घरहरुतिर इशारा गर्दै भने ।

इलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोली धमाधम ती घरभित्र प्रवेश ग¥यो । उनीहरुले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरे । भट्टी चुल्हाहरू भत्काउन थाले । प्रहरीले शुक्रबार बिहान सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा, श्रीपुर, कदमाहालगायत विभिन्न टोलका छ वटा रक्सी पकाइरहेको चुल्हाहरू भत्काइदियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले १०० लिटर घरेलु मदिरा, मदिरा बनाउन तयारी अवस्थामा रहेको ४०० लिटर कच्चापदार्थ मर्चा, २५ किलो सख्खर (गुँड), ४० वटा प्लाष्टिकका भाँडा (ड्रम) स्थानीयवासीको रोहबरमा नष्ट ग¥यो । प्रहरी निरीक्षक केशरीले नियन्त्रणमा लिइएको मदिरा बनाउने छ वटा स्टीलका मेसिन, दश वटा स्टीलका ठूलो भाँडो र पाँच वटा प्लाष्टिकको ठूलो ड्रम सरोकारवालालाई पूर्व सूचना दिई नष्ट गरिने जानकारी दिए ।

चाडपर्व नजिकिए सँगै अहिले सप्तरीमा अबैध रुपले उत्पादन र बिक्री वितरण बढ्दै गएको घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्न र चुल्हाहरू भत्काउन थालेको छ ।

बिहीबार मात्र प्रहरी चौकी धाँतीको टोलीले सुरुङ्गा नगरपालिका–१० थलहा टोलस्थित तीन वटा घरबाट अवैध मदिरा बनाउने तीन वटा मेसिन, ४० लिटर घरेलु मदिरा, २०० लिटर कच्चापदार्थ, २० किलो शख्खर (गुँड), पाँच वटा प्लास्टिकको भाँडा नियन्त्रणमा लिई नष्ट गरेको थियो । उक्त स्थानबाट पाँच वटा सिल्भर र पाँच वटा प्लास्टिकका भाँडासमेत बरामद गरिएको थियो ।

प्रहरी निरीक्षक केशरीका अनुसार सुरुङ्गा नगरपालिका–३ डाँडा टोल र वडा नं ५ चकदह, वडा नं ७ पोखरिया र वडा नं १० पटेर्वाबाट एक महिनाको अवधिमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरिएको छ । प्रहरीले सीमानाकामा कडाइ गर्नुका साथै एक महिनामा एक दर्जनभन्दा बढी लागुऔषध ओसार्नेलाई पक्राउ गरी कारवाही चलाएको छ भने एक हजारभन्दा बढी गाँजाका बोटहरु काटेर नष्ट गरेको छ ।

घरेलु मदिरा र लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिदै गएकाले प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान जिल्लाभरी नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । चाडपर्वलाई लक्ष्य गरी विशेष योजना बनाएको सप्तरी प्रहरीले अवैध लागुऔषध ओसारपसार र घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउँदै शान्ति सुरक्षालाई अव्बल बनाउने अभियानमा जुटेको जनाएको छ । मातहतमा रहेका प्रत्येक प्रहरी इकाईहरूलाई घरेलु मदिरा नियन्त्रणमा लिन विशेष निर्देशन नै दिएको प्रहरी उपरीक्षक प्रसाईले बताए । एक महिनाको अवधिमा सप्तरी प्रहरीले तयारी र कच्चापदार्थ गरी करीब १० हजार लिटर मदिरा नष्ट ग¥यो ।

यो अभियानलाई प्रहरीले निरन्तरता दिने जनाउँदै प्रहरी उपरीक्षक प्रसाईले चाडवाड नजिकिँदै गर्दा कुनै आपराधिक क्रियाकलाप घट्नबाट जोगाउन पहिलो चरणमा अवैध रुपले उत्पादन गरेको घरेलु मदिरा बिक्री र उत्पादन तथा लागुऔषध ओसारपसारलाई रोक लगाउन खोजेको बताए। “विशेष कार्ययोजना बनाएर अभियानलाई निरन्तरता दिएका छौं,” प्रहरी उपरीक्षक प्रसाईले भने – “घरेलु मदिरा बनाउनेलाई पहिलो चरणमा सचेत पार्ने, दोस्रो चरणमा सम्झाउने र तेस्रो चरणसम्म पनि भेट्टिए कारवाही थाल्छौं ।” यस अभियानमा सबै नागरिकको सहयोग रहने प्रहरीको विश्वास छ ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउने अभियान शुरू गरेको नेपाल प्रहरीले समाजमा अशान्ति मच्चाउने पहिलो कारण घरेलु मदिरा रहेको जनाउदै आएको छ । प्रहरीले घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा, मर्चा लगायतका सामग्री बरामद गर्दै मदिरा र चुल्हा नष्ट गर्न थालेकामा व्यवसायीहरु असन्तुष्ट देखिए पनि स्थानीय बासिन्दाले सराहना गरेका छन् ।

दशैं, तिहार जस्ता महत्वपूर्ण चाडपर्वका बेला मदिरा सेवन गर्नेहरूको सङ्ख्या र मात्रा बढ्नुका साथै चोरी, लुटपाट, हत्या, हिंसाका घटनामा वृद्धि हुने भएकाले रोकथामका लागि प्रहरीको सकृयता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । अखाद्य बस्तु मिसाएर उत्पादन गरिएको घरेलु मदिराले शान्ति सुरक्षा मात्रै नभएर नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको खडग नगरपालिकाकी सरस्वती चौधरी बताउँछन् । लागुऔषध तथा दुव्र्यसनी एवं अवैध घरेलु मदिरा निर्मूल कार्यलाइ तीव्रता दिंएकामा खुशी व्यक्त गर्दै चौधरीले विसङ्गतिरहित समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताए ।

अवैध मदिराका कारण दिनहुँ समाजमा झैझगडा, घरेलु हिंसा, महिला हिंसा लगायतका घटनामा वृद्धि भइरहेको हुनाले विशेष अभियान थाल्न आवश्यक रहेको राजविराज निवासी महिला शिक्षक मञ्जु श्रेष्ठले बताइन् । -रासस

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्