Logo

गोदावरीमा कुण्ड र धर्मशाला बन्दै



ललितपुर, १७ असोज (रासस) : प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ ।

सो कुण्ड फराकिलो पार्ने, वरपर मर्मत तथा सुधार गर्ने, पर्खाल लगाउने, सिँढी बनाउने र रेलिङ हाल्ने काम करीब समाप्त भइसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “नगरपालिकाले कुण्ड बाहिर पर्र्खाल लगाउन र लामाकुण्डा मर्मत तथा सुधारका लागि ‘गोदावरी–लामाकुण्ड’ शीर्षकअन्तर्गत रु ५० लाख सहयोग गरेको छ”, महर्जनले भने , “गत विसं २०७२ को १२ वर्षे मेलामा उठेको रु ४७ लाख चन्दा र नगरपालिकाले कुण्ड मर्मतका लागि दिएको रु एक करोड गरी हाल रु एक करोड ४७ लाखबाट काम धमाधम अघि बढेको छ ।”

यसैगरी हाल कुण्ड नजिकै दुईतले भवन धर्मशालाको रुपमा निर्माण भइरहेको छ । सो धर्मशाला निर्माणको लागि रु दुई करोड रकम सङ्कलन भएको छ । नगरपालिकाले रु ६० लाख, प्रदेश सरकारबाट रु एक करोड र वडाले रु ४० लाख सहयोग गरेको सो नगरपालिका–३ वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताए । “प्रदेश सरकार, नगरपालिका र गोदावरी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिले संयुक्तरूपमा निर्माण हुँदैछ, यस धर्मशालामा टाढा–टाढाबाट धार्मिक महत्वका साथै अन्य विशेष योजना लिएर गोदावरी आउने मानिसलाई बस्न दिइने छ”, घिमिरेले भने , “गोदावरीमा प्रत्येक वर्ष आउने भिक्षु, सन्त, महन्त र विशिष्ट व्यक्तिले सो धर्मशालाको सुविधा लिएर गोदावरीको भ्रमण अध्ययन तथा अवलोकनलाई प्रभावकारी बनाउन सक्नेछन् ।” सम्बन्धित व्यक्तिको अनुमति लिएर आवश्यक परेको खण्डमा सो भवनमा इच्छुक व्यक्तिले शुभकार्यदेखि बैठक, भजन र कीर्तन गर्न पाउने घिमिरेले जानकारी दिए ।

नगरपालिकाले यस चालू आर्थिक वर्षमा गोदावरीमा अघि बढिरहेको विकास निर्माणको कामलाई बढवा दिन रु ५० लाख रकम पुनः सहयोग गरेको छ । नेपाल सरकारले कुण्ड निर्माणका लागि छुट्टै सहयोग गरेको अर्काे ४० लाख रुपैयाँ गरी कूल रु ९० लाखको योजना अघि बढाउने बताइएको छ । सो रकमले गोदावरी कुण्ड वरपर १०० फिट लम्बाइ र १० देखि ५० फिट चौडाइमा फैलिएको पोखरी ढलान गर्ने, मुख्यचोक र बजार क्षेत्रमा सडकबत्ती हाल्ने, कुण्डभित्र रहेका पञ्चदेवल मन्दिर र कुण्ड बाहिर सार्वजनिक शौचालय निर्माण गर्ने, आश्यक परेको स्थानमा थप पर्खाल लगाउने सो संरक्षण समितिका अध्यक्ष मदुसुधन पौडेलले जानकारी दिए । “समितिले कुण्डभित्र छानो बनाउने, भक्तपुरे इँटा लगाउने, अग्राखको झ्याल, ढोका र टुँडाल राख्ने, छानो निर्माण सम्पन्न भएपछि तामा हाल्नेछ”, पौडेलले भने , “कुण्डभित्रको वातावरण सफा र हराभरा राख्न, हाल सञ्चालनमा रहेको पोखरी र पोखरीमा रहेका पाँच धाराको सुविधा कुण्ड बाहिर दिन लागिपरेका छौँ ।”

सिंहास्त मेलामा भक्तजनबाट उठेको दान र चन्दा रकमले कुण्ड मर्मत तथा सम्भारमा निकै सहयोगी भूमिका खेल्ने गोदावरी कुण्डा तथा सिद्धेश्वर महादेव मन्दिरका पुजारी शम्भु पुरीले जानकारी दिए । गोदावरी कुण्ड र सो कुण्डभित्र रहेको सिद्धेश्वर महादेवको महिमा प्राचीनकालबाट अघि बढेको हो । पाँच पुस्ता अघिदेखि सो कुण्ड र महादेवको सेवामा जुटेका पुरीले भने , “प्राचीनकालमा ‘बहादुर पुरी स्वामी’ नामक बाबा गोदावरीमा एक कुटी बनाएर तपस्या गरी बस्थे । बाबाले तपस्या गर्दै जाने क्रममा एक दिन उहाँको आँखा खुलेछ, बाबाले एउटा गाई चर्दै कुण्डमाथिको वनबाट तल झरेको देखेछन् । लौ गाई त चर्दै तल झरेछ । चिप्लियो भने मर्छ भनी धपाएरमाथि वनतर्फ पठाउने क्रममा गाई विपरीत दिशातर्फ भागी चिप्लेर मरेछ । गाई मरेपछि गौ हत्या लाग्ने चिन्तामा परेका सो बाबालाई एक दिन सपना भएछ । उहाँले १२ वर्ष दक्षिण गोदावरीको स्नान गरे पाप मुक्त हुने सपना देख्नुभएछ । बाबाले १२ वर्षसम्म दक्षिण गोदावरीमा स्नान गरेपछि गङ्गा प्रशन्न भएर उत्तर गोदावरीमा आउने बचन दिनुभएछ । बाबाले सो बचन पाएको भोलिपल्ट सो कुटी वरपर टन्न पानीले भरिएछ । बाबाको त्रिशूल, कमण्डलु र विगत एक छेउमा पाखा लागि उहाँ अलप भएपछि उत्तर गोदावरीको महत्व झल्किएको हो ।”

सो बाबाको मुक्तिपछि १२ वर्षसम्म गरेको पाप मेला भरेपछि समाप्त हुने विश्वास हिन्दूधर्मावलम्बीमा रहेको छ । गोदावरी अघि बढाइएका यी योजना पूर्णरुपमा समाप्त भएपछि झन् बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गोदावरीवासीले अपेक्षा गरेको छन् । यस वर्ष दशैँको नौरथा लागेसँगै सो मन्दिरको दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । विशेषगरी गोदावरीको नौधारामा रहेकी देवीको दर्शन गर्न आउने भक्तजनले गोदावरी कुण्डमा पनि स्नान गर्ने गरेका छन् । सो सिद्धेश्वर मन्दिरमा नेपाली पर्वअनुसार सङ्क्रान्ति, औँशी, पूर्णिमा र एकादशीमा मानिसको ठूलो भीड लाग्ने गर्छ । उत्तर गोदावरीको रुपमा परिचित सो कुण्ड वा मन्दिर लगनखेलबाट १० किलोमिटर पर अवस्थित छ । हाल सो कुण्डको पानी यसै वडाको १ गोदामचौर, २ विशङ्खुनारायण र ३ टौखेल वडाका करीब ३० हजार उपभोक्ताले उपभोग गरिरहेको वडा नं ३ ले जानकारी दिएको छ । वृहस्पति सिंह राशिमा प्रवेश गरेका बेला प्रत्येक १२ वर्षमा भाद्र महीनाभर गोदावरीमा सिंहास्त मेला लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस्