Logo

कपडा बैंकप्रति दलित असहायको आकर्षण बढ्दो



वीरगञ्ज, १७ असोज (रासस) : रिक्सा चलाएर गुजारा गर्दै आएका सर्लाही रेहुवाका ४० वर्षीय सञ्जय पासवान दिनभरिको थकाइपछि राति घर जाँदा १२ वर्षीय छोराले दशैँमा नयाँ लुगा किनीदिन सधैँभरि आग्रह गर्दै आएका थिए । उनको रिक्सा कमाईले घर धान्न धौधौ परिरहेको थियो ।

सधैँभरिको छोराको जिद्दीबाट आजित भइसकेका बेला छोराको मागलाई पूरा गरिदियो, कपडा बैँकले । उनलाई आफ्नो घरपरिवारको नानीहरुका लागि धेरै पटक त्यही बैंकबाट लुगा लगेर दशैँको साइत जुराइदिएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, व्यवस्थित वीरगञ्ज अभियान तथा वुमेन क्रिएशनले संयुक्त रुपमा सञ्चालनमा ल्याएको कपडा बैंकले पासवानलाई मात्र होइन अन्य दलित असहाय र मजदूरहरुका लागि बरदान साबित भएको छ ।

“हामी गरीब छौ , दैनिक गुजारा गरेर परिवारको पेट पाल्ने गरेका छौ , कसरी छोराछोरीलाई दशैँजस्तो पर्वमा नयाँ लुगा किन्न सक्छु र ?”, सुखदी मल्लिक डोमले आफ्नो पीडा पोख्दै भनिन्, “तर खोज्दै जाँदा हाम्रा नानीहरुका लागि निःशुल्क लुगा बाँड्ने कपडा बैंक फेला पर्यो र त्यही बैंकबाट कपडा ल्याएर छोराछोरीका माग पूरा गर्दा धेरै खुशी लागेको छ ।”

हप्तामा एक दिन गरीब तथा दलित बस्तीमै गएर पुराना कपडा बाँड्ने र यसमा सबै कपडा दाताको राम्रो सहयोग भएकाले लामो समयसम्म कपडा बैंकलाई सञ्चालन गरी गरीब, दलित तथा असहायलाई सेवा गर्ने योजना रहेको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले बताए ।

दुईछाक टार्न धौधौ पर्ने दलित तथा विपन्न परिवारलाई त दशैँमा नानीहरुलाई नयाँ लुगा किनिदिन सपना जस्तै भएको भन्दै वीरगञ्जकै सुनैना, गौरी, निशा, हरि, अजय राउतले एकै स्वरमा भने, “खोज्दा देउता पनि भेटिन्छ भने झैँ कपडा बैंक भेटिएपछि त्यहाँबाट लुगा लगेको त हाम्रा छोराछोरी पनि खुशीले दशैँ मनाउने थालेका छन् ।”

“दाताहरुले आफ्ना घरमा भएका पुराना लुगाहरु हाम्रो बैंकमा दिने गर्छन् र त्यो कपडा हामीले दलित, गरीब तथा असहायलाई निःशुल्क बाँड्ने गर्दछौँ”, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले भने , “यस कपडा बैंकबाट वीरगञ्ज तथा वरिपरिका गाउँका रिक्सा, ठेलावाला, गरीब, दलित तथा मजदूरहरु बढी लाभान्वित हुने गरेका छन् ।”

हप्तामा तीन दिन अर्थात् सोमबार, बुधबार र शुक्रबार साँझ ५ः०० बजे खुल्ने सो कपडा बैंक निरन्तर चलिरहने बताइएको छ । करीब डेढ महीनादेखि सञ्चालनमा रहेको सो कपडा बैंकबाट हालसम्म दुई हजारभन्दा बढी गरीब, दलित लाभान्वित भएको वुमेन क्रिएशनका अध्यक्ष नुतन सरावगीले बताए ।

उनले भने , “तिहारका लागि नयाँ नयाँ लुगाहरु दलित बस्तीका घरमै गएर बाँड्ने योजना रहेको छ ।” ‘सबैको हात, सबैको साथ, जरुरतमन्द र असहाय व्यक्तिका लागि कपडा बैंक’ भन्ने नाराका साथ शुरु भएको यस बैंकका कारण गरीब, दलित असहायलाई हुने कपडाको आवश्यकतालाई धेरै हदसम्म पूरा गर्ने भएकाले दशैँमा लुगाको जोहो गर्न त्यति समस्या नभएको स्थानीयवासीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्