काठमाडौँ, २३ कात्तिक : नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ ।
समितिको आज सम्पन्न ११औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिएको छ । सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष गङ्गा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सह–कोषाध्यक्षमा राम खतिवडा चयन भएको छ ।
यस्तै, समितिको सदस्यमा शिवशरण डङ्गोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधारसमितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
“महानगरपालिकाको राजश्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ”,उनले भने । विसं २०५७ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामुलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।