चितवन, २७ मङ्सिर : माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास (होमस्टे) सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ । छयासी घरपरिवारको सय बिघा जमीनलाई चक्लाबन्दी गरेर सामूहिक खेती थालिएको छ । सोही ठाउँमा ५० परिवारका लागि घरबास निर्माण गर्न लागिएको हो ।
सूर्योदय कृषि सहकारी संस्था लिमिटेडले माडी नगरपालिका–८ कान्तिपुरमा गत वर्षबाट सामूहिक खेती शुरु गरेको छ । सो आयोजनाका प्रबन्धक शिवजी गायकका अनुसार ८६ घरपरिवारमध्ये घर आवश्यक भएका ५० परिवारलाई स्वरोजगार हुने गरी घरबास निर्माण गर्न लागिएको हो ।
सामूहिक खेती गरिएको क्षेत्र दलित बाहुल्य क्षेत्र हो । कूल जमीनधनीहरुमध्ये ४९ घरपरिवार दलितको रहेको छ । त्यसमध्ये पनि ३९ परिवार गन्धर्व रहेको गायकले जानकारी दिए । चौँतीस परिवार बाहुन क्षेत्री रहेका छन् । दलित बस्तीमा निर्माण गर्न लागिएको घरबास नेपालकै नमूना हुने गायकको भनाइ छ । तीन कठ्ठादेखि चार बिघासम्म जमीन भएका स्थानीयवासीलाई समावेश गरेर सामूहिक खेती गरिएको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेती गत वर्षको जेठबाट शुरु गरिएको हो । पहिलो बाली ५० बिघामा धान लगाइएको थियो । सो धानको अहिले कुन्यू लगाएर रखिएको छ । सावित्री जातको धान लगाइएको थियो । पौडेलले प्रतिकठ्ठा एक मुरीका दरले जग्गाधनीलाई तत्काल धान दिइने बताए । बाँकी पछि फिर्ता गरिनेछ । पच्चीस बिघामा माछापोखरी निर्माण गरिँदै छ भने २५ बिघा चक्लाबन्दी गर्न बाँकी रहेको छ ।
धान थन्काइएको खेतमा जोतेर उपकरणबाट तोरी र मकै रोपिएको छ । पाँच बिघामा हाइब्रिड जातको मकै र पाँच बिघामा तोरी लगाइएको छ । चालीस बिघामा गहुँ लगाउने तयारी थालिएको छ । सामूहिक खेतीभित्र पाँच कठ्ठामा लगाइएको तरकारी बिक्री भइरहेको छ ।
प्रदेश नं ३ सरकारको विशेष सहयोगमा सहकारीले सामूहिक खेती थालेको हो । प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सामूहिक खेतीका लागि धान, मकै र गेडागुडीका लागि थ्रेसर खरिद गरिएको छ भने गहुँ रोप्ने उपकरण सिड ड्रिल पनि सहकारीले भित्र्याएको छ । गत वर्ष सहकारीलाई प्रदेश नं ३ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु एक करोड पाँच लाख र माडी नगरपालिकाले रु १० लाख उपलब्ध गराएको थियो ।
चालु वर्षमा नमूना बस्ती, माछापोखरी, गोदामघर, औजार राख्ने घर, गन्धर्व सूचना केन्द्रलगायतका लागि प्रदेश सरकारले रु दुई करोड र माडी नगरपालिकाले रु २५ लाख विनियोजन गरेको प्रबन्धक गायकले जानकारी दिए ।
नेपालकै नमूना सामूहिक खेती र घरबाससहितको नमूना बस्ती बनाउन लागिपरेको गायकको भनाइ छ । माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन बीचको बस्ती हो । यो ठाउँले पर्यटकीय महत्वका दृष्टिले प्रचुर सम्भावना बोकेको छ ।