दिल्ली, १४ फागुन । मगर भाषा,संस्कृति बचाउन कानुङ लाङघाली मगर समाज दिल्लीले भारतको नयाँ दिल्लीमा ‘गौरवमय मगर महोत्सव’ गरेको छ । विदेशमा बसेर पनि नेपाली संस्कार र संस्कृति, मगरी भेषभुषाको जगेर्ना गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्न मगर समाजले वृहत महोत्सव गरेको हो।
आउने पिढीलाई कसरी आधुनिकसँगैं शैक्षिक र मौलिक पारस्परिक सामजस्यतामा डो¥याउन सकिन्छ भन्ने ध्येय बढिरहेका बेला नेपालीपन जोड्दै कला संस्कृतिको जगेर्नाका लागि फागुन १५ मगर दिवसको पुर्वसन्ध्यामा महोत्सव आयोजना गरेकोे कानुङ लाङ्घाली मगर समाजका अध्यक्ष तथा पाल्पा माथागढी ताकातुङ क्युडाडाका फर्स बहादुर थापाले बताए।
मगर महोत्सवको उद्घाटन गर्नुहुदै भारतका आदिवासी जनजाति मामिला मन्त्री अर्जुन मुण्डाले भारतको ४० प्रतिशत भुभागमा रहेका आदिवासी र नेपालको ५२ प्रतिशत रहेका आदिवासी जनजातिको राष्ट्रिय पर्वमा सामेल भएर जानकारी लिन पाउदा खुशी लागेको बताए। राजनितिक रुपले भारत र नेपाल फरक भएपनि दुई देशका नागरिक मुलत आदिवासी भएको उल्लेख गर्दै हाम्रा धेरै संस्कृति एकै खालको भएकोले एक अर्काको कला संस्कृतिको उच्च सम्मान गर्ने मुण्डाले बताए ।
दिल्लीमा नेपाली र भारतीय नागरिकको समन्वयतात्मक विविध कार्यक्रममा सक्रिय युवा नेता सन्दिप रानाले मगर समुदायले नेपाल एकीकरणको समयमा पृश्वीनारायण शाहलाई सहयोग गरि नेपालको एकीकरणदेखि जहानिया राणा शासन हटाएर प्रजातन्त्र स्थापित गर्न महत्वपुर्ण योगदान दिदै आएको उल्लेख गर्दै लखन थापा जनजाति नै पहिलो शहिद भएको बताए। जब जब देशलाई आबश्यक पर्छ तब तब लोकतान्त्रिक समाजवादको संरचनामा जिउने मगर समुदाय देशको रक्षार्थ सडकमा आएको इतिहास बिर्सन नहुने उनको तर्क थियो ।
पछिल्लो समय देशको जनआन्दोलनमा रोल्पा, रुकुम सहितका मगर समुदाय नभएको भए जनयुद्ध सफल बन्नेमा शंका हुने बताउदै बिर भनेर चिनाउने गोर्खा सैनिकमा मगरको बाहुल्यताले मगरको शाहसीको सम्मान गरे । द्धितिय विश्वयुद्धमा १३ भिक्टोरिया क्रस पाउने मध्ये ५ वटा मगर समुदायकै नाममा जानु गौरवको बिषय भएको रानाले स्मरण गरे। साथै, आउदा दिनहरुमा पनि मगर समुदाय देशको हित र समृद्धिमा डटेर अगाडि बढी आफ्नो ईतिहास कायम राख्न मगर समुदायलाई आव्हान गरे ।
सोही अबसरमा सिक्किम विधानसभाकी विधायक राजकुमारी थापाले मगर समुदाय हाम्रो गौरव रहेको बताए। नेपाली दुतावासका सांस्कृतिक काउन्सिलर होम प्रसाद लुइटेलले संसारभरि छरिएर रहेका अन्य समुदायलाई मगर महोत्सव र यहाँको मौलिक, सांस्कृतिक सम्पदा अरुलाई प्रेरणा बनेको बताए। मगर समाज केन्द्र नेपालका विदेश विभाग प्रतिनिधि रक्षा राईका मगरले गौरविलो मगर पहिचान कायम राख्नुपर्नेमा जोड दिए ।
मगर समुदायको एकीकृत संस्थाको रुपमा दिल्लीमा विकसित यस मगर समाजले संस्था स्थापनादेखि नै मगर समुदायको संस्कृति बचाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अबसरमा मगर समुदायमा प्रख्यात करुवा, झ्याउरे, मारुनी, सोरठी लगायत आधुनिक शैंलीमा मगरी पोषाकमा सजिएका मगर समुदायले नाच प्रस्तुत गरेका थिए । मगर समुदायको यो मौलिकताले फेरि एकपटक दिल्लीमा गाउँकै झल्को दिलाएको पाल्पा निस्दी ज्यामिरेका केश गाहाले बताए। लाङघाली समाजमा विशेष गरि पाल्पा, स्याङ्गजा सहित पश्चिम क्षेत्रका मगर समुदायका नागरिक आबद्ध छन् । मगरी भेषभुषामा सजिएर आएका नेपालीहरुको पहिरनले दिल्ली क्षेत्रमा नेपालीहरुको आत्मियता र कला संस्कृतिको खानीको संज्ञाको रुपमा लिइएको अध्यक्ष थापाले बताए।
सोही अबसरमा नेपाल भ्रमण बर्ष २०२० को प्रचारात्मक कार्य तथा यसको महत्व पनि दर्शाइएको थियो । दिल्लीमा रहेका नेपालीहरुको बाक्लो उपस्थितिले कार्यक्रममा रौनक थपेको थियो ।