फागुन २०, काठमाण्डौ । सादा जीवन, इमानदार र भ्रस्टाचार नगर्ने नेताको नाम लिनुपर्दा कृष्णप्रसाद भट्टराईको नाम अग्रपंक्तिमा आउँछ । नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको आज ९ औँ स्मृति दिवस ।
कृष्णप्रसाद भट्टराईको जन्म वि.सं.१९८१ मा भएको थियो । उनलाई किशुनजीका नामले पनि चिनिन्छि । किसनुजी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए । उनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए ।
२००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए । भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए ।
तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाट पराजित भएका थिए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए । गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
कृष्णप्रसाद भट्टराईले जीवनको अधिकांश समय राजाहरुबाट दुःख पाए । जननिर्वाचित संसदको पहिलो सभामुख थिए उनी । त्यहीबेला २०१७ मा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकारका प्रधामन्त्री वीपी कोइरालाई अपदस्थ गरी जेल हालेका थिए । भट्टराई पनि लामो समय जेल बसे । पञ्चायती सरकारले लामो समय जेल हालेका उनी अविवाहित रहे ।
२०३३ सालमा बीपी कोइरालाबाट कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उनले २०५३ सालसम्म अनरवत रुपमा नेपाली काँग्रेसको सभापतिका रुपमा नेतृत्व सम्हालेका थिए । राजाको बोलवाला भएको पञ्चायतविरुद्ध लामो संघर्षका क्रममा उनी काँगेसको नेतृत्वमा रहे । राजाहरुबाट धेरै दुःख पाएका उनी राजसंस्थाको भने विरोधी भएनन् । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिंदा भट्टराईले खुलेर विरोध गरेका थिए ।
तर राजाको गल्तीलाई राजसंस्था नै ढालेरसजाय दिननहुने पक्षमा दृढ थिए । तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीसँगै काँग्रेसले संवैधानिक राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रलाई पार्टीको लक्ष्य बनाएपछि भट्टराईले जीवनको उत्तराद्धमा आफू काँग्रेस नभएको घोषणा गरेका थिए । जीवनभर सादगी नेताको परिचय बनाएका परिपक्व भट्टराईसँग लामो राजनीतिक अनुभव पनि थियो । उनी राणा र राजा दुवैसँग लडेका थिए ।
कलिलो उमेरमै पहिलो जननिर्वाचित संसदको सभामुख बनेका थिए । पञ्चायतसँग लडे । पञ्चायनविरुद्धको जनआन्दोलनमा काँग्रेसको सभापति थिए । अन्तरिम सरकारको प्रधानमन्त्री र त्यसपछि २०५६ सालपछिको बहुमतको सरकारको समेत प्रधानमन्त्री बने । राजाबाट सरकार संचालनमा समेत चुनौतीको सामना गरिरहे । उनै किसुनजीको विस २०६७ साल फागुन २० गते निधन भएको थियो ।