काठमाडौ, १४ चैत्र । बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको छहारी संस्थाले आफ्नो भवन तथा आफूसँग रहेको ५० श्यया क्वारेन्टाइनका लागि प्रदान गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका बिरामीका लागि एकल महिलासँग सम्बन्धित उक्त संस्थाले आफ्नो भवन र ५० श्यया क्वारेन्टाइनका लागि दिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए ।
छहारीले ५० श्ययासहितको भवन उपलब्ध गराएसँगै नगरपालिकामा कोरोना भाइरसका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राख्न सकिने भएको छ । आवश्यक परे नगरपालिकाका स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण गरिने बताइएको छ । नगरपालिकाले नगरको सात स्थानमा सहायता कक्ष स्थापना गरेको छ ।
कोरोनाको प्रभाव फैलन नदिन खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । यसका साथै वडा कार्यालय तथा स्वास्थ्य चौकी र क्वारेन्टाइनस्थललाई भाइरस सङ्क्रमणबाट बचाउन डिसइन्फेक्ट गर्ने काम पनि शुरु गरिएको बताइएको छ । रासस