Logo

कोभिड–१९ः हेटौडामा पूजापाठ बन्द



काठमाडौ, १५ चैत्र । कोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशको राजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ ।

हेटौडा–४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ । ती मन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ । आज मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ ।

पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठ अनिश्चितकालका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पत्रपत्रिका बन्द

हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् । लक डाउनको आज पाँचौँ दिन पनि हेटौँडाका मुख्य बजार र गल्ली सुनसान छन् । दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २०० बढी सवारी साधनलाई कारवाही गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्