Logo

आइसोलेशनमा राखिएका युवक फिर्ता



डोटी, १५ चैत्र । कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय युवकलाई अस्पतालले घर फिर्ता गरेको छ । भारतको तेलंगना राज्यमा काम गर्दै आएका निज युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए ।

तेलंगनामा कोरोना भाइरसको संक्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएपछि कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गएको मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

आइसोलेसन वार्डमा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो । स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि गरेपछि उनलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले बताए । उता कैलालीको धनगढीस्थित सुदूरपश्चिम सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक युवकमा भने कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्