Logo

हाम्रो युवा समूहको पहलमा शितल पोखरी पुर्नस्थापना



ललितपुर, ७ वैशाख । महालक्ष्मी नगरपालिकाको शंखादेवीस्थित जङ्गलमा शितल पोखरी हराइसकेको थियो । त्यस क्षेत्रमा पानीको महत्वपूर्ण स्रोत बनेको पोखरी यसपटक युवाहरुले पुनःस्थापना गरेका छन् ।

हाम्रो युवा समूहका संयोजक विवेक कार्की र अच्युत थापाको विशेष पहलमा पोखरी पुर्नस्थापना गरिएको हो । भौतिक दुरी कायम गर्दै पोखरीको पुरिएको माटो र झालहरु सबै फाँडेर एक हप्ताभन्दा बढी समय लगाएर पोखरी पुर्नस्थापना गरिएको हो ।

हाम्रो युवा समूहका अच्युत थापाले लकाउनमा पनि निर्माण र पुर्ननिर्माणका कार्यहरु भौतिक दुरी कायम गरेर गरिएको बताए । ऐतिहासिक पोखरी पुर्नस्थापना गरिएपछि पानी रिचार्जको स्रोत तयार भएको उनको भनाई छ । पोखरी पुर्नस्थापनाले त्यस क्षेत्रमा जङ्गली जनावरको पिउने पानीको समेत व्यवस्था हुने बताए । जङ्गलमा मृग, दुम्सी, बदेल, सालक जस्ता जनावर छन् भने कालिजलगायत चराहरुको बासस्थान रहेको छ ।

युवा समूहको पहलमा पोखरी पुर्नस्थापना हुँदै गर्दा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले पनि भविष्यमा पोखरी निर्माणमा विशेष सहयोग गर्ने वचन दिएका छन् । उनले युवाको भूमिकाको प्रशंशा गर्दै लोपोन्मुख पोखरीको पुर्नस्थापनाप्रति खुशी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्