ललितपुर, ३२ जेठ । ‘माल पाएर चाल नपाएपछि यस्तै हुन्छ ! करोडौं खर्च गरेर बल्लतल्ल बनाएको बाटो एकै रातमा बिग्रिएको छ ।
प्लटिङ गर्ने भुमाफियासँगको मिलेमतोमा राजकुलो नै गायब बनाइएपछि महालक्ष्मी नगरपालिकाको बिष्णुडोल-लुभु सडकखण्ड वर्षाको भेलले बिग्रिएको छ । गत वर्ष प्रदेश सरकारको बजेटले बनेको बाटो भेल लागेर बिग्रदै गएको छ ।
बाटोको अर्कोतर्फ गत वर्ष प्लटिङ गर्दा कुलो नै गायब पारिएको छ । जसका कारण निकास नहुँदा बाटोमा पानी लाग्न थालेको छ । बाटो बिग्रदा दैनिक आवतजावत गर्नेहरु समस्यामा परेका छन् ।
जकुलोको नामोनिशान मेटाएपछि हजारौं रोपनी कृषियोग्य जमिन सिंचाईंबाट वञ्चित पारिएको छ । धान रोप्ने समयमा कुलो बिग्रदा कृषकहरु आक्रोशित भएका छन् ।
यसबारे स्थानीयले नगरपालिका र वडामा समेत ध्यानाकर्षण गराएका छन् । प्लटिङ गर्न कस्ले अनुमति दियो र कुलो गायब गरिदा समेत किन बेवास्ता गरियो भनी स्थानीयले खाजबिन थालेका छन् ।