Logo

स्मारक नजिक पिसाब फेर्दा १४ दिन थुनामा



तपाईं हामीले नेपालभित्र जथाभावी पिसाब फेर्नेहरु देख्दै र भोग्दै आएका छौं । सार्वजनिक स्थानमा पिसाब फेर्दा पनि कारबाही भएको कमै घटना थाहा छ । विकसित मुलुकमा जथाभावी पिसाब फेरेमा कडा सजाय हुन्छ । यस्तै सजाय भएको छ एक युवकलाई ।

घटना बेलायतको हो । त्यहाँ किथ पाल्मरको स्मारक नजिक पिसाब फेरेको अभियोगमा एक युवालाई १४ दिन थुनामा राख्ने सजाय दिइएको छ ।
स्टानस्टिड निवासी २८ वर्षीय आन्ड्रयू ब्याङ्क्सले गत शनिबार लण्डनको केन्द्रीय भागमा भएको प्रदर्शनको क्रममा पाल्मरको स्मारकसँगैको खम्बामा आड लागेर पिसाब गरिरहेको तस्वीर सार्वजनिक भएको थियो ।

आइतबार बिहान वेष्टमिन्स्टर म्याजिष्ट्रेट कोर्टमा भएको सुनुवाइमा उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । अदालतले उनलाई सार्वजनिक शिष्टता भंग गरेको कसुरमा १४ दिन थुनामा राख्न आदेश दिएको छ ।

शनिबार लण्डनमा आयोजित र्यालीबाट लण्डनका स्मारकहरुमा तोडफोड हुनसक्ने भएकाले सोको सुरक्षार्थ स्वयंसेवीरुपमा आएका श्वेत युवाहरुको टोलीको उनी सदस्य थिए । अदालतमा बयानका क्रममा उनले त्यहाँ स्मारक रहेको थाहा नपाएको बयान दिएका थिए ।

प्रहरी पाल्मरको कर्तब्यपालनकै क्रममा बेलायती संसद भवन बाहिर आत‌ंककारी आक्रमणमा परी २२ मार्च २०१७ मा निधन भएको थियो । उनीसँगै अन्य पाँच जनाले सो आक्रमणमा ज्यान गुमाएका थिए ।- वी नेपालीको सहयोगमा, Photo source: Agency



प्रतिक्रिया दिनुहोस्