काठमाडौं, १० भाद्र । अहिले सामाजिक सञ्जालभर नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बढी क्रिया प्रतिक्रिया आइरहेको छ । उनको कार्यकाल यसै महिना सकिन लाग्दा पुनः नियुक्ति हुने नहुनेबारे आम चासो छ ।
लोडसेडिङ्ग अन्त गरेको श्रेय लिएका कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउनुपर्ने आवाज बढी उठिरहेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुनः नियुक्ति दिने चर्चा पनि थियो । तर, यसबारे कुनै प्रस्ताव गएन ।
कुलमानले प्राधिकरणमा पुनः नियुक्तिको चाहना देखाएका छन् । यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहँदा कुलमानको एकाउन्टबाट आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिएकोले धन्यवाद समेत लेखियो । निरन्तर ट्वीटर भइरह्यो । यसरी चारवटा ट्वीटर एकाउन्टमा ट्वीटर हुँदा कतिपय मानिसहरु अलमलिए ।
नभन्दै कुलमानले आफ्नो अफिसियल एकाउन्टबाहेक अन्यको विश्वास नगर्न आग्रह गर्नुपर्यो । यसरी कुलमानको नाममा खोलिएका एकाउन्टका कारण स्वयं कुलमान हैरान भएका छन् । उनको बारेमा भ्रम सृजना गर्ने गतिविधि समेत त्यस्ता एकाउन्टबाट भएका छन् ।