Logo

बालकको शल्यक्रिया रोकिएपछि समाजसेवी शोभा पाठकले गरिन् ३० हजार सहयोग



काठमाडौं, २७ कात्तिक । आर्थिक अभावमा एक वर्षीय रियान महराको टाउकोको शल्यक्रिया रोकिएपछि समाजसेवी शोभा पाठकले सहयोग गरेकी छिन् । कोरोना भाइरसलाई आठौं दिनमा जितेर आज नेपाल मेडिकल कलेज अत्तरखेल पुगेकी पाठकले महराका बाबुआमा टेकबहादुर महरा र दीपा महरालाई रकम हस्तान्तरण गरेकी हुन् ।

अस्पतालको बेडमा रियान महरा

पाठकले बालकको जीवनरक्षाका लागि आफू सहयोगका लागि आएको बताइन् । उनले आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । सहयोग लिंदा रियानका बाबुआमा भावुक भएका थिए । कोरोना भाइरसको संक्रमण भई आठ दिन आइशोलेशनमा बसी हिजोमात्र संक्रमणमुक्त भएकी पाठकले आफूले नयाँ जीवन पाएको र रियानलाई नयाँ जीवन दिने महान कार्यमा सहभागी हुन पाउँदा धन्य सम्झेको बताइन् । रियानकी आमा दीपा महराले शोभा पाठकप्रति कृतज्ञता जनाइन् ।

यसैगरी, रियानको शल्यक्रियाका लागि सिन्धुपाल्चोककी विमला लामिछानेले पाँच हजार, काठमाडौंका उत्सव रायमाझीले तीन हजार, ललितपुर गोदावरी नगरपालिका १ का किशोर खड्काले एक हजार रुपैयाँ सहयोग गरेका छन् । रायमाझी बालकको शल्यक्रियाका लागि आवश्यक रगत दान गर्न आउँदा आर्थिक समस्या बुझेर तीन हजार सहयोग दिई गएका थिए ।

टाउकोमा पानी जमेर नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटका रियानका आमाबाबुले खर्चको व्यवस्था गर्न नसकेपछि आज हुनुपर्ने शल्यक्रिया रोकिएको थियो । तीन चरणको शल्यक्रिया गर्नुपर्नेमा रियानको दुई चरणको शल्यक्रिया सफलता भइसकेको छ । तेस्रो चरणको शल्यक्रिया सफल भएमा उनी सामान्य अवस्थामा फर्कने चिकित्सकको भनाई छ । तर, बिहिबार विहानका लागि तय भएको शल्यक्रिया खर्च व्यवस्था नहुँदा शुक्रबारका लागि सारिएको छ । शोभा पाठकलगायतको सहयोगपछि रियानको शुक्रबार विहान १० बजे शल्यक्रिया हुने भएको छ । शल्यक्रियाको रकम जुटेपनि आइसियुलगायतको खर्चका लागि रियानका आमाबाबुले सहयोगको आग्रह गरेका छन् ।

रियानका बाबु टेकबहादुर महरा र आमा दीपा महराले उपचारका लागि सात लाख भन्दा बढी नेपालगञ्ज र कोहलपुरको निजी अस्पतालमा सात लाखभन्दा बढी रकम खर्च भएको बताए । त्यहाँ रियानको शल्यक्रिया बिगारिदिएपछि महरा दम्पत्ति काठमडौं आएका थिए । उनीहरु ठुलो ऋण बोकिसकेको अवस्थामा छन् ।

काठमाडौं मेडिकल कलेजमा दुई हप्ता उपचारपछि रियाको अवस्था सुध्रिएको छ । उनीहरुले सहयोगको आव्हान समेत गरेका छन् । सहयोगका लागि दीपा महराको मोबाइल नम्बर ९८०६४७६४८६ र टेकबहादुर महराको नम्बर ९८२४५६७१९७ का अलावा समाजसेवी शोभा पाठकको सम्पर्क नम्बर ९८६०६७६४११ सम्पर्क गर्न सकिनेछ । सहयोगका लागि दीपा रोकायाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर ४२१०१००००२१९२०१० मा रकम जम्मा गर्न सकिनेछ । उनीहरु दुई हप्तायता जोरपाटीस्थित अस्पतालको आइसीयुको विरामी कुरुवा कोठामा छन् ।



प्रतिक्रिया दिनुहोस्