Logo

राष्ट्रिय प्रसारण लाइन विस्तार



डोटी, २६ मंसिर । जोरायल गाउँपालिका–५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ ।

सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ ।

जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त विद्युत् लाइन शिखर नगरपालिका–१ कपल्लेकीसम्म पु¥याइने योजनाअनुसार काम भइरहेको छ । कम्तीमा पनि रु २० देखि २५ लाखको लगानीमा अहिले उक्त वडामा विद्युत् विस्तारको काम शुरु गरिएको र पछि बजेट थप गरिने बताइएको छ । जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित जोरायलबाट नै विद्युत् विस्तार सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाका कार्यालय प्रमुख कुम्भराज जोशीले बताउनुभयो । उनले भने, “आगामी असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रसारणको विद्युत् पु¥याउने लक्ष्यअनुसार हामीले काम शुरु गरेका छौँ, कति सक्छौँ हेर्दै जाउँ ।” विद्युत् सेवा विस्तार गरिन थालेपछि गड्सेराका स्थानीयवासी निकै खुशी भएका छन् ।

उक्त ठाउँमा स्थानीय खोलाबाट विद्युत् सेवा निकालिए पनि सबै गाउँमा विद्युत् आपूर्ति गर्न नसकिएका कारण समस्या झेल्दै आएका नागरिक अब चौबिसै घण्टा विद्युत्को उज्यालो पाउनेमा निकै खुशी भएको स्थानीयवासी तथा नवोदय माविका शिक्षक टोपबहादुर बोहराले बताउनुभयो । उनले भने, “विद्युत् नहुँदा विद्यार्थीदेखि आम नागरिकलाई सास्ती भएको थियो, अब राष्ट्रिय प्रसारणको विद्युत् आउने भएपछि सबैलाई सहज हुनेछ ।”

विद्युत् विस्तारका लागि अहिले उक्त वडाका गाउँगाउँमा कर्मचारी खटाइएको र पोल ढुवानीको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाले जनाएको छ । राष्ट्रिय प्रसारणको विद्युत् सेवा सुचारु भएपछि सो वडाका सयौँ घरधुरी लाभान्वित हुने भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्