Logo

कमजोर भए बामदेव र बादल



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजनको औपचारिक घोषणा नजिक पुग्दा लगभग सबैले कित्ताकाट गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षमा विभाजित बनेका नेताहरुले आ-आफ्नो राजनीतिक भविष्यको जोखाना गरेर कित्ताकाट गरेका हुन् । आज विहान कित्ताकाटमा नाटकीय घटनाहरु विकास भइरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पूर्व माओवादीका दुई स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी र मणि थापालाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । हिजोसम्म उनीहरुको कित्ताकाट भएको थिएन । तटस्थ भुमिकामा थिए । ओलीले यसअघि लेखराज भट्टलाई आफ्नो पक्षमा पारिसकेका छन् । यी दुई सहित ओली पक्षमा स्थायी कमिटीका १५ जना पुगेका छन् ।

केन्द्रीय सदस्यहरुको पनि कित्ताकाट लगभग भइसकेको छ । ओलीले रणनीतिक उद्देश्यले ५ सय ५६ जना केन्द्रीय सदस्य थपेर पार्टी कमिटीमा आफ्नो बहुमत सिद्ध गर्न खोजेका छन् ।

नेकपाभित्र प्रचण्ड र माधवकुमार नेपाल पक्षधरले पनि आफ्नो पकड बलियो बनाउन प्रयास गरिरहेका छन् । योगेश भट्टराई र घनश्याम भुसाल मन्त्री छाडेर माधव नेपाल समूहमा समाहित भएका छन् । प्रचण्ड निकट मानिएका लेखराज भट्टले मात्र साथ छाडेका छन् । माधव नेपालले यो घटनाक्रम विकास भएपछि पार्टी अध्यक्ष पाउने बुझिएको छ ।

नेकपाभित्र संघर्ष उत्कर्षमा पुग्दा सचिवालयका दुईजनाले भने तटस्थ भूमिका देखाइरहेका छन् । उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलको भूमिका कहिले कता त कहिले कता जस्तै भयो । उनीहरुले आफ्नै गुट पनि बचाउन सकेनन् । बादललाई उनका गुटका नेताहरुले पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर चेतावनी दिए । बामदेवलाई विगतमा रामकुमारी झाँक्रीसहितका नेताहरु पुगेर चेतावनी दिएको खुलिसकेको छ । बामदेव पटक पटक मन्त्री बन्ने आश्वासनमा फसेको आरोप खेप्न पुगे ।

आज नेकपा अध्यक्ष प्रचण्ड पुल्चोक पुगेर बादललाई भेटे । उनलाई गुटमा फर्काउन प्रयास गरे । बामदेवलाई भैंसेपाटी पुगेर भेटे । गौतमले कुनै गुटमा नभएको र तटस्थ भएको जवाफ दिए । दुई पक्षबीच कडा संघर्ष चलिरहँदा यी दुई नेताहरु तटस्थ रहँदा आफ्नै गुट समेत जोगाउन असफल भएका छन् । दुवै नेता एक्लै भएको अवस्था छ ।

नेकपाभित्रको अहिलेको विवादले सबैभन्दा कमजोर अवस्थामा बामदेव र बादललाई बनाएको छ । फुटको अवस्थामा पुगेको नेकपामा सचिवालयको अब गणना नहुने भएको छ । केन्द्रीय कमिटी नै मुख्य भएको छ । यो घटनाले यसपटक बामदेव र बादललाई नराम्रो झड्का दिएको छ । बादललाई गृहमन्त्री छाड्नुपर्ने पीडाले रोकेका उनकै पूर्व सहयोगीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । बामदेवमाथि गृहमन्त्री बन्ने लालच देखाएको आरोप छ ।

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)

सुर्य चिन्हका लागि रस्साकस्सी



प्रतिक्रिया दिनुहोस्