ललितपुर, १४ भदौ । उसको नाम सोधिनँ । किन कि म नामसँग भन्दा कामसँग मतलब राख्छु ।
मलाई उस्को काम मन पर्यो । विहानै सडकमा चिच्याउँदै थियोः धनियाँ ! धनियाँ !
बालकै थियो । आज ७ नबज्दै धनियाँ बेच्न हिंडेको ।
सोधेंः धनियाँ मुठ्ठाको कति ?
१० रुपैयाँ ।
कति मुठ्ठा बाँकी छ ?
पाँच मुठ्ठा ।
म सँगै हिंडे । कसरी बेच्दोरहेछ ।
गाउँ छिचोलिंदा समेत कसैले किनेन ।
मसँग गोजीमा पैसा थिएन ।
भनेंः साथै हिंड । कसैले नकिने एक मुठ्ठा म किन्छु । बाँकी मेरो गाउँकाले अवश्य किन्नेछन् ।
ऊ मसँग जान तयार भयो ।
उसको धैर्यता र मिहेनत देख्दा मज्जा लाग्यो ।
सोधेँः कति वर्षको भयौ ।
१० वर्ष ।
कति कक्षा पढ्छौं ?
४ कक्षा ।
कुन स्कुल ?
विश्वामित्र गणेश ।
घर कहाँ हो ?
बाजुरा ।
यहाँ कहाँ बस्छौं ।
बनधारामा (ललितपुर, महालक्ष्मी स्थित मूलको धारा भएको स्थान)
धनियाँ बेचेर के गर्छौ ?
हजुरबुवाले ५० रुपैयाँ मलाई दिनुहुन्छ, २२० आउँछ १७० दिन्छु । ५० रुपैयाँ खुत्रुकेमा जम्मा गर्छु ।
स्कुल जानु पर्दैन ?
होमवर्क लिन जान्छु ।
अनलाइन क्लास छैन ?
मोबाइल छैन होमवर्क लिन गइहाल्छु ।
बालक सँगै एक किलोमिटर आएर १० रुपैयाँको धनियाँ मलाई बेचेर गयो । अरुले बाँकी ४ मुठ्ठा किने ।
उसको कामप्रतिको लगाव र धैर्यता देखेर प्रभावित भएँ । उसले कामको महत्व बाल्यकालबाटै बुझेको रहेछ । प्रयास जारी राखेर सफल हुनुपर्ने सिकेको रहेछ । २२ मुठ्ठा धनियाँ बेचेरै छाड्यो । ऊ विहानै आफ्नो काममा सफल भयो । हरेक दिनैपिच्छेको सफलताले आखिर मानिसलाई शिखरमा पुर्याउन हो । रोम एक दिनमा बनेको थिएन ।-दीपेश केसी