काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद प्रेमबहादुर आलेले गत वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथमा छिरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा बोल्दै सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको छ । पहिलो पटक २०७९ माघ १४ गते तार काटियो । परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो । तर, पर्यटन मन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवि बराललाई पुरस्कारस्वरूप सदस्यबाट हटाउने काम भयो । प्रतिवेदन लुकाएर त्यही चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पाएर दोस्रो पटक २०७९ चैत १४ गते फेरि चोरी गर्यो । त्यसपछि अस्ति जेठ २९ गते पनि तार काट्यो । अनि घ्याम्पे दानपेटीका हरायो । मूर्ति तथा बहुमुल्य सम्पदा चोरिएको छ । कोषको अध्यक्ष र मन्त्री मस्त निद्रामा छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलिया मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्यमा नियुक्ति दिएको छ । गोठाटार जग्गाको सत्यतथ्य रिपोर्ट ल्याउनेलाई हटाउन जेठ २६ गते स्पष्टीकरण सोधिएको छ ।”