Logo

अझै तयार भएन अस्पताल भवन



बलेवा (बागलुङ), २९ माघ । बागलुङ जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेको छैन ।

तत्कालीन जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पताल बनाइएको थियो । त्यसपछि भवन डिभिजन कार्यालयले यहाँ तीन भवन बनाउने ठेक्का लगाएको थियो । पहिलो भवन बनेपछि २०६८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘ए ब्लक’ उद्घाटन गरे ।

सँगैको ‘बी ब्लक’को भवन बन्न नौ वर्ष लागेको थियो । विसं २०६७ मा सक्ने गरी सम्झौता गरेको आशिष मिलेनियम, भीमज्योति, जयबाबा गोरख नयाँबाटो संयुक्त निर्माण कम्पनीले नौ वर्ष ढिला गरी बनाएको बी ब्लक २०७६ असोज २४ गते सकिएको थियो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पुनःदोस्रो भवन उद्घाटन गरेका थिए । अझै पनि यहाँको तेस्रो भवन सम्पन्न भएको छैन ।

मिलेनियम विल्डर्स निर्माण सेवाले १० करोडमा ठेक्का लिएको यो भवन अझै नसकिएको हो । जिम्माअनुसार काम गरेको भए २०६८ सालमै भवन हस्तान्तरण भइसक्नुपथ्र्यो । तीनतले यो भवनको पहिलो र दोस्रो तलामा झ्यालढोका राखिएको छैन । अस्पतालका लागि चाहिने भित्री सजावट लगायतको काम बाँकी छ ।

तेस्रो तलामा भने अस्पताल विकास समितिले केही कोठा आफ्नै खर्चमा बनाएर प्रशासन र सभाहल सञ्चालनमा ल्याएको छ । कामको ठेक्का दिएको तत्कालीन भवन डिभिजन कार्यालय हाल सघन सहरी तथा भवन निर्माण कार्यान्वयन एकाइ भएको छ । एकाइ प्रमुख सुनिता श्रेष्ठले काम केही मात्रै बाँकी रहेको दाबी गरे ।

“ठेकेदारले चाँडै काम सक्छु भनेका छन्, त्यसैले पर्खेका छौँ”, उनले भने, “काम सकिनेबित्तिकै अस्पताललाई हस्तान्तरण हुन्छ ।” चार पटकसम्म म्याद थपेको ठेकेदार कम्पनीले अब भने सक्ने आश्वासन दिएको उनले बताए । “म्याद त सकिएको छ, काम पनि चाँडै सकिने छ”, उनले भने, “काम सकेपछि अन्तिम भुक्तानी दिन्छौँ ।”

भवनको अगाडि पार्किङस्थल बनाउने, ग्यारेजलगायत काम बाँकी रहेको श्रेष्ठले बताउनुभयो । भवन पूरा नहुँदा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा उपचार सेवा प्रभावित हुने गरेको छ । अस्पतालमा अहिले पनि १६ विशेषज्ञ डाक्टरसहित २२ को दरबन्दी छ । काम गर्ने कोठा र उपकरण नभएको देखाएर कतिपय विशेषज्ञ आएर फर्कने गरेका छन् । अहिले पनि शल्यक्रिया र सघन उपचार कक्ष काम चलाउ अवस्थामा छन् । दुई सय शय्या सञ्चालन गर्ने भने पनि ल्याइएका शय्या गोदाममा थन्केका छन् ।

लामो समय मेडिकल सुपरीटेन्डेन्ट कक्ष छाप्रोमा थियो । अहिले पनि अस्थायीरुपमा बनाइएको कोठामा मेसुको काम हुने गरेको छ । “आफ्नै भवन पूरा नहुँदा सेवा प्रवाहमा पनि असरपर्ने नै भयो”, मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले भने, “पर्याप्त भवन बनेपछि मात्र सहज सेवा हुनेछ ।” आफ्नै अक्सिजन प्लान्ट भए पनि भवन बनिनसक्दा सबै स्थानमा जडान गर्न नसकिएको उनले बताए । मेसु प्रधानका लागि चाँडै कार्यालय तेस्रो तल्लामा बनाइएको छ । यो ढिलागरी बने पनि अझै सोही भवन बनिसकेर हस्तान्तरण हुने दिनको टुङ्गो लागेको छौँ । रासस



प्रतिक्रिया दिनुहोस्