Logo

कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना



दमौली (तनहुँ), १६ फागुन । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार ताल निर्माणका लागि बाँध बनाउन सुरु गरिएको छ ।

कृत्रिम तालमा सिँचाइ, मस्त्यपालनलगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ निर्माण थालिएको न्यौपानेको भनाइ छ । उनका अनुसार ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत दश लाख, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख विनियोजन भएको छ ।

नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको जनाएको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको न्यौपानेले जानकारी दिए ।

जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रति रोपनी पाँच लाख ५० हजारका दरले र दोयमलाई पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ ।

ताल निर्माणका लागि करिब चार करोड बजेट लाग्ने अनुमान छ । एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको नगरप्रमुख न्यौपानेले बताए । विसं २०७५ पुस २० गते प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुवात गरेका थिए ।

तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । तालको औसत गहिराइ २.५ देखि ३ मिटरको रहनेछ भने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाई ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ ।

उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखिएको पोख्रेलले बताए । “ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्,” उनले भने, “तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्