धनकुटा, १५ चैत । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन् ।
सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताए ।
कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने बताए । उनले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन् । रासस