Logo

तटबन्ध पुनःनिर्माण भएपछि बस्तीसँगै सयौँ बिगाहा जग्गा सुरक्षित



लहान, ३ साउन । कलान नदीको बाढीले कटान गरेको तटबन्ध पुनःनिर्माण भएपछि साविक सिरहाको कर्जन्हा गाउँपालिका–२ बन्दीपुरका बासिन्दा खुशी भएका छन् ।

बाढीले बाँध कटान गरेपछि घरबारविहीन बन्ने हो कि भन्ने चिन्तामा डुबेका स्थानीय अहिले बाँध पुनःनिर्माण भएसँगै खुशी भएका हुन् । सिरहा र धनुषा जिल्लाको पूर्वी भेगमा रहेको कमला नदीमा अघिल्लो वर्ष धार परिवर्तन गरी आएको बाढीले सिरहाको कर्जन्हा गाउँपालिका नजिकै करिब १०० मिटर बाँध कटान गरेको थियो ।

बाढीले कटान गरेको स्थानमा यस वर्ष जनकपुरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले स्थानीय उपभोक्ता समितिमार्फत बाँध पुनःनिर्माण गर्नुका साथै बाढी नियन्त्रणका लागि जियो ब्याग स्टर्डका तथा नौ मिटर लम्बाइ र तीन मिटर उचाइको पाँच वटा स्परसमेत निर्माण गरेको छ ।

बाँध पुनःनिर्माण भएसँगै बाढीको उच्च जोखिममा रहेको सयौँ बिगाहा खेतीयोग्य जग्गासमेत सुरक्षित भएको स्थानीयले बताएका छन् । बाढीले कटान गरेको स्थानमा बाँध पुनःनिर्माण नहुँदा आफूहरुमा डर त्रासको स्थिति थियो, कर्जन्हा गाउँपालिका राजकुमार श्रेष्ठले भन्नुभयो– “बाँधको पुनःनिर्माणसँगै अब बस्ती र खेतीयोग्य जग्गा समेत सुरक्षित भएको छ ।”

कुल रु ८४ लाख ४८ हजारको बजेटमध्ये रु ७६ लाखको लागतमा बाँध र स्पर निर्माण गरिएको इन्जिनियर पुरुषोत्तम साहले जानकारी दिनुभयो । उहाँले पहिलाको भन्दा यसपालिको तटबन्ध र स्पर निर्माण सामग्री गुणस्तरीय रहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot