Logo

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा



काठमाडौं १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन। सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन्। खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन्।

अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन्। बितेका १५ दिनमा कतैकतै खाल्डा पुर्ने काम सुरु भए पनि त्यो ‘झारा टार्ने’ शैलीको देखिन्छ। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले मिलेर काम नगर्दा १५ दिनमा सबैतिरका खाल्डा पुरिनसकेको बताए। ‘१५ दिनमा यति काम हुनुलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘धेरै किसिमका व्यवधानले गर्दा सडकका सबै खाल्डा पुर्न सकिएन।’

उनले खानेपानीका पाइप, ढल र बिजुुलीका पोलले खाल्डा पुर्ने कार्यमा अवरोध गरेको जानकारी दिए। ‘समयसीमाभित्रै तोकिएका सडकखण्डको काम सक्न हामीले जिम्मेवार निकायलाई घचघच्याइरहेका छौं,’ घिमिरेले भने, ‘तर धेरैजसोले रिपोर्ट पठाएका छैनन्।’

रिपोर्ट नपठाउनेमा सडक विभाग, पिआइडी, केयुकेएल, बागमती सभ्यता, धोबीखोला करिडोर आयोजना, विष्णुमती करिडोर आयोजना, महादेवखोला करिडोर आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत छन्।

यी निकायले कार्य विवरण पठाउन अटेरी गरेका कारण प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्ने अन्तिम दिन आइतबार कार्य विवरण सार्वजनिक गरेको छैन। विवरण नपठाउने निकायलाई पठाउन समय दिएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। उनले सोमबारसम्म रिपोर्ट नपठाउनेलाई कारबाही गरिने बताए।

‘समयसीमा सकिए पनि हामीले यसलाई रोक्नु हुँदैन भनेर निर्देशन दिएका छौं,’ उनले भने, ‘अझै पनि चाबहिल र गौशाला खण्डमा काम हुन सकेको छैन। यो सडक खण्डमा काम गर्न बारम्बार निर्देशन दिएका छौं।’

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले करिब ८८ प्रतिशत सडकका खाल्डा पुरिसकेको दाबी गरे। उनले भने, ‘सबै निकाय तदारुकताका साथ लागिपरेको भए अझ बढी काम हुन्थ्यो, तर आपसी समन्वय नहुँदा पनि सोचेजस्तो प्रतिफल लिन सकेनौं।’

उनले लाजिम्पाट–लैनचौर, पानीपोखरी, चुच्चेपाटीलगायत ठाउँमा पानी रसाएर कामै गर्न नसकेको बताए। ‘अहिले काठमाडौंका सडक जति बनाए पनि सुधि्रन समय लाग्छ, हतारमा काम गर्दा भरपर्दो हुँदैन,’ निर्देशक सापकोटाले भने, ‘काम गर्दा त सडकको अवस्था यस्तो छ, नगरेको भए यहाँका सडक कस्ता हुन्थे होला?’

उनका अनुसार नयाँ बानेश्वर–पुरानो बानेश्वर, गौशाला–चाबहिल, चुच्चेपाटी–बौद्ध, जोरपाटी–नारायणगोपालचोक, गोल्फुटार–सामाखुसी–बसपार्क, बालाजु–नारायणगोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकुलगायत क्षेत्रका खाल्डा लगभग सकिएको बताए। ‘यी ठाउँमा काम गरिसकेका छौं,’ सापकोटाले भने, ‘तर वर्षात्का कारण अघिल्लो दिन गरेको काम भोलिपल्ट बल्भि्कन्छ।’

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले सबैतिरबाट तथ्यांक आइनसकेकोले ८८ प्रतिशत काम भयो भनेर भन्न सकिने अवस्था नरहेको बताए। ‘धेरैजसो निकायले कति काम भयो भनेर रिपोर्ट नै बुझाएका छैनन्, स्थलमा पुग्दा खासै काम भएको पनि देखिँदैन,’ उनले भने, ‘स्थल र रिपोर्ट दुवै हेरेर सोमबार कार्य विवरण सार्वजनिक हुन्छ।’

पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले नसकिएका ठाउँमा निरन्तरका काम गर्ने बताए। ‘धेरैजसो ठाउँमा काम सकिएको छ,’ उनले भने, ‘लैनचौर र पानीपोखरी क्षेत्रमा काम गर्न मुस्किल परेको छ।’ उनले उक्त क्षेत्रको खानेपानीको पाइप बनाउने काम केयुकेएलको रहेको बताए।

‘खाल्डा पुर्न प्रधानमन्त्रीले १५ दिने म्याद दिनुभएको छ भन्ने त सुनेको थिएँ तर दिनभरि सडककै खटिँदा पनि कतै काम भएको देखेनौं,’ आइतबार कलंकी–नागढुंगा सडक खण्डमा खटिएका ट्राफिक प्रहरी हरिबहादुर थापाले भने, ‘खाल्डा पुरिएको भए हामीलाई सवारी व्यवस्थापन गर्न यति कठिन हुँदैनथ्यो।’ उनले खाल्डा पुर्ने जिम्मा पाएका सरकारी उच्च अधिकारी यस ठाउँमा नपुगेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot