Logo

सिपी मैनालीका श्रीमान श्रीमती नै समानुपातिकमा, चित्रबहादुर केसीको नाम एक नम्बरमा



१८ कात्तिक, काठमाडौं । राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सो पार्टीबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीको एक नम्बरमा छन् ।

जनमोर्चाले प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेर वाम गठबन्धका तर्फबाट उपाध्यक्ष दूर्गा पौडेललाई प्रत्यक्षतर्फको सांसदमा उठाएको छ भने अध्यक्ष केसीलाई समानुपातिक सूचीमा राखेको हो ।

राष्ट्रिय जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर केसी पछाडि जनकराज शर्मा, शंकरप्रसाद बराल, दुर्गाबहादुर केसी, चन्द्रबहादुर खत्री लगायत १०२ जना छन् ।
दोस्रो संविधानसभामा तीन स्थानको प्रतिनिधित्व गरेको राष्ट्रिय जनमोर्चाले यसपटक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यतामा पुग्न सकिन्छ कि सकिँदैन भन्ने संघर्षमा छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले यस वर्ष पनि समानुपातिकको सूचीमा आफू र आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् ।

दोस्रो संविधानसभामा पनि मैनाली दम्पती पार्टी कार्यकर्ताको भोटबाट सांसद बनेका थिए । र, उनीहरु पालैपालो मन्त्रीसमेत बने ।

निर्वाचन कानूनले थ्रेसहोल्डको व्यवस्था गरिसकेका अवस्थामा पनि केही साना पार्टीहरु समानुपातिकतर्फबाट सांसद बन्न पाइने आशमा छन् । यही आशमा रहेका नेकपा मालेका महासचिव मैनालीले आफ्नो नाम समानुपातिकको तेस्रो नम्बरमा राखेका छन् । पत्नी निलम केसीको नाम १८ औं नम्बरमा छ ।

हँसिया र तारा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने नेकपा माले र जनसमाजवादी दुबैले प्रतिनिधिसभातर्फका ११० सिटमध्ये १०८ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्