Logo

तनहुँको श्री विष्णु मावि नमुना विद्यालय बनाइने, पौष २७ गते घोषणा गर्ने तयारी



  • कमलमणि पोख्रेल

कात्तिक १८, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा अवस्थित श्री विष्णु माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने भएको छ ।
आगामी पौष २७ गते मनाइने विद्यालयको स्वर्ण वार्षिकोत्सवका आवसरमा विद्यालयलाई नमुना विद्यालय घोषणा गर्ने गरी तयारी अगाडि बढाइएको छ । हरेक स्थानीय तहले एउटा विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्नुपर्ने व्यवस्था भए अनुसार बन्दिपुर गाउँपालिकाअन्तरगतको उक्त विद्यालयलाई नमुना बनाउन लागिएको हो ।

सोही गाउँपालिकाको अर्को विद्यालय श्री पवित्रा उच्च माविले पनि नमुना विद्यालयका लागि दाबी गरेको छ । यद्यपी विष्णु माविको तुलनामा पवित्रा उच्च मावि धेरै विकसित भएसकेकाले विष्णु माविलाई नै नमुना विद्यालय बनाउन जोड गरिएको हो ।

यसअघि विष्णु माविको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न प्रयास गर्दै आएको स्थानीय धु्रवतारा युवाक्लब, स्थानीयबासी र भूपू विद्यार्थीको चाहना र पहलमा नमुना विद्यालय बनाउन लागिएको विष्णु मावि भूपू विद्यार्थी मञ्चका प्रचारप्रसार समितिका संयोगजक कृष्ण पन्तले जानकारी दिए ।

नमुना विद्यालय बनाउनका लागि विद्यालयमा भएका कक्षाकोठा, शौचालयलगायतका भौतिक संरचना, शैक्षिक गुणस्तर लगायतका विषयमा सुधार गर्नुपर्ने भएकाले त्यसका लागि समिति बनाएर कम सुरु भइसकेको छ । पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाई अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय हुने गरेकाले सामुदायिक विद्यालयलाई पनि निजी विद्यालय जस्तै अंग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा समितिले काम गरिरहेको पन्तले जानकारी दिए ।

”बोर्डिङ स्कुलमा १ हजार विद्यार्थी तर सामुदायिकमा ३ सय मात्रै । यसलाई परिवर्तन गरेर सामुदायिक विद्यालयले दिने शिक्षा पनि विश्वसनीय र गुणस्तरीय हुन्छ भन्ने मान्यता स्थापित गर्नका लागि नमुना विद्यालयको रुपमा विष्णु माविलाई अघि सारिएको हो ।” पन्तले भने ।

नमुना विद्यालय निर्माणका लागि बजेट चाहिने भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको छ । स्वर्ण महोत्वसका बेला गठन हुन लागेको भूपू विद्यार्थी मञ्चका तर्फबाट पनि आर्थिक सहयोग संकलन गरिने पन्तको भनाई छ । केही अधिकाशं पूर्व विद्यार्थी विद्यालयका लागि सहयोग गर्न तयार देखिएकाले आर्थिक संकलन सहज हुने अनुमान गरिएको छ । करिब २ सय जना पूर्व विद्यार्थीबाट ५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको प्रचारप्रसार संयोजक पन्तले बताए ।

त्यसैगरी अन्य विभिन्न संघ संस्था र व्यक्तिबाट पनि विद्यालयका लागि सहयोग आउने अपेक्षा गरिएको छ । विद्यालयलाई नुमना बनाउनका लागि सोही विद्यालयकी प्रधानध्यापक जमुना थापाको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इनकन खनालसहित प्रकास पन्त र पुजन अधिकारी समावेश गरि समिति गठन भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्