Logo

सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिनुपर्छ : प्रधानन्यायाधीश पराजुली



काठमाडौँ, ८ पुस (रासस) :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयलाई सधैँ संक्रमणकालीन अवस्थामा राख्न नसकिने हुँदा अब बन्ने सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “न्यायालय भनेको कसैद्वारा कसैका लागि नियुक्ति र जागिर खुवाउन सिर्जना भएको ठाउँ होइन, यसका आफ्नै मूल्य, मान्यता छन्, मेरो प्रयास अभिछिन्न रूपमा मूल्य मान्यताअनुरूप न्यायालय सञ्चालन गर्नमा ध्यान गएको छ ।”

महान्यायाधिवक्ताको कार्यालयको ६७ औँ स्थापना दिवसका अवसरमा कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायालयप्रति रहेको जनविश्वासलाई अझ बलियो बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

उहाँले सातवटा प्रदेशमा सातवटा उच्च अदालतले न्याय सम्पादन हुनसक्ने चर्चा गर्दै न्यायापालिकाका सेवालाई चुस्त बनाउन सूचना प्रविधिको अधिकतम् उपयोग शुरू गरिएको जानकारी दिनुभयो । प्रधानन्यायाधीश पराजुलीले न्यायालयको भौतिक प्रशासनिक सेवालाई अझ सुदृढ बनाउन यथेष्ट बजेट विनियोजन गर्न माग गर्दै न्यायालयमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गरिनु हुन्न भन्नुभयो ।

सो अवसरमा उहाँले पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई सम्मान र उत्कृष्ट सरकारी वकिल तथा कर्मचारीलाई पुरस्कृत गर्नुभयो । विसं २००८ मा आजकै दिन महान्यायाधिवक्ताको कार्यालयको स्थापना भएको थियो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले फौज्दारी न्याय प्रणालीलाई सुदृढ बनाई चुस्त न्याय सेवा प्रदान गर्न सरकारी वकिलको भूमिका अहम् रहने चर्चा गर्नुभयो । उहाँले संविधानले महान्यायाधिवक्ताको कार्यालयलाई प्रदान गरेका जिम्मेवारी धेरै रहेको चर्चा गर्दै जिम्मेवारी पूरा गर्न कार्यालयलाई सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले फौज्दारी न्याय प्रणालीप्रति थप जनविश्वास बढाउन प्रहरी र सरकारी वकिलबीचको समन्वय अझ बलियो बनाउनुपर्छ भन्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले महान्यायाधिवक्ताको सेवालाई बलियो बनाउन आर्थिक लगानी बढाउनुपर्छ भन्नुभयो । संवैधानिक काूननका विज्ञ सूर्यप्रसाद शर्मा ढुङ्गेल र पूर्व महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले महान्यायाधिवक्ता र सरकारी वकिलको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot