Logo

नयाँ राष्ट्रपति चयन गर्दै म्यानमारको संसद



याङ्गुन, ९ चैत  : म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।

म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरागर्ने बताइएको छ ।म्यानमारको संसदको तल्लो सदन प्रतिनिधिसभाले हालका उपराष्ट्रपतिमध्येबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेगरी निर्वाचक मण्डल गठन गर्ने र त्यसको प्रक्रिया पूरागर्ने बताइएको छ ।

राष्ट्रपति कायले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको जानकारी दिइएको छ । म्यानमारको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि त्यसको सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने प्रावधान छ ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुभएको छ ।म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले स्वास्थ्यका कारण आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामापछि म्यानमारको प्रतिनिधिसभाका सभामुखले पनि राजीनामा दिनुभएको थियो । उहाँको स्थानमा भने बिहीबार नै संसदले नयाँ सभामुख चयन गरिसकेको छ ।

म्यानमारको वर्तमान संसद सन् २०१६ को अप्रिल महिनामा निर्वाचित भएको हो । पाँच वर्षका लागि निर्वाचित सो संसदसँगै यहाँको सरकार र संसदका पदाधिकारीहरु पनि पाँच वर्षकै लागि निर्वाचित भएका हुन् ।

सन् २०१५ को निर्वाचनमा यहाँको प्रमुख राजनीतिक दल नेशनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दलले स्पष्ट बहुमत हासिल गरेपछि यहाँको सरकारले पाँच वर्ष शासनगर्ने अधिकार प्राप्त गरेको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्

Screenshot