Logo

उपत्यकाका ट्राफिक लाईट आजदेखि सञ्चालनमा



काठमाडौँ, १४ चैत्र । लामो समयदेखि बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको समन्वयनमा नयाँ बानेश्वर, महाराजगंज, पदमोदय मोड, पुतलीसडकस्थित कुमारी बैंक अगाडि, न्यूरोड गेट, सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि र सोल्टीमोडमा मंगलबारबाट ट्राफिक लाईट पुनः संचालनमा आएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले समेत चासो लिएपछि १२ वर्षपछि ट्राफिक लाईट संचालनमा ल्याउन सफलता मिलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए।

प्रधानमन्त्री ओली आफैंले चासो दिएपछि ट्राफिक लाईट पुनः संचालनका लागि सडक विभाग, काठमाडौं महानगरपालिकाले लगानी गरेका हुन। नेपालमा पहिलो पटक विक्रम संवत २०२४ सालमा सिंहदरबार र राजदरबारको दक्षिणी गेट, सुन्धरा, न्यूरोड गेटमा ट्राफिक लाईट जडान गरिएको थियो।

त्यसपछि जापान सरकारको सहयोगमा काठमाडौंको विभिन्न स्थानमा २०५८ सालमा ट्राफिक लाईट जडान गरिएको थियो । विगत १२ वर्षयता ट्राफिक लाईट फेरी बन्द हुँदा काठमाडौंको ट्राफिक व्यवस्थापनमा प्रतिकूल असर परेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot