Logo

चिकित्सा विधेयक हिउँदे अधिवेशनमा पारित गरिने:मन्त्री पोखरेल



काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन ।

शिक्षा पत्रकार सञ्जाल इजोनको आठाँै वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताएका छन । “अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयाँै”, उनले भने ‘‘जसले गर्दा चिकित्सा विधेयक पारित हुन सकेन । अब अर्को अधिवेशनमा पारित गराउँछौँ ।”

मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि बताएका थिए । उनले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी लगानीकर्तासँग सरकारले समन्वय गर्ने बताउँदै निजी क्षेत्रले दिने शिक्षा नाफाभन्दा सेवामूलक हुनुपर्नेमा जोड दिएको जनाईएको छ ।

उनले सरकारले मुलुकलाई सामाजिक न्यायमा आधारित भएर समृद्ध देश बनाउनका लागि २५ वर्षे रणनीतिसमेत ल्याउन थालेको जानकारी गराएका छन । मन्त्री पोखरेलले विश्वविद्यालयले आधारभूत शिक्षाको चरित्र बदल्नुपर्छ भन्दै यो अनुसन्धान, खोज र नयाँ ज्ञानको साधन बन्नुपर्ने धारणा राखेको बताईएको छ । उनले नयाँ ल्याउन थालिएको सङ्घीय शिक्षा ऐनमा प्रारम्भिक शिक्षा अभ्यास परिमार्जन गरिने जानकारी गराए ।

यसैगरी अधिवेशनले प्रकृति अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । इजोनका उपाध्यक्षमा रुवी रौनियार, महासचिवमा सूर्य पाण्डे, सचिवमा दुर्गा लामिछाने र कोषाध्यक्षमा विनोद पौडेल भएका छन।
यसैगरी सदस्यमा विष्णु नेपाल, शरद शर्मा, रविचन्द्र पराजुली, पार्वता चौधरी, रुपेश आचार्य र नारायण किलम्बु रहेको जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot