Logo

चलचित्र ‘वीरविक्रम २’ मा आकाश ‘आउट’, पल ‘ईन’



काठमाडौं । लामो समयदेखि स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘वीरविक्रम २’ बाट अभिनेता आकाश श्रेष्ठले हात झिकेका छन् । केही हप्ता अगाडि उनकै उपस्थितिमा फिल्मको औपचारिक घोषणा गरिएको थियो । उनले फेसबुकमा एक स्टाटस लेख्दै फिल्म छाडेको जानकारी दिएका हुन् ।

‘वीरविक्रम २’ छाड्नुको कारण उनले हजुरबुबा विरामी भएको बताएका छन् । उनले लेखेका छन्, हजुरबुबा विरामी हुँदा उहाँको उपचारमा समय लाग्ने भएपछि फिल्मलाई समय दिन नसक्ने भएको छु । मिलन दाईसँग काम गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो र खुसी थिएँ तर यो टिमलाई साथ दिन सकिनँ ।

उनले फिल्ममा आफू आबद्ध नभएपनि ‘वीरविक्रम २’ लाई सफलताको शुभकामना दिएका छन् । उनले भविष्यमा निर्देशक चाम्ससँग काम गर्ने चाहना रहेको पनि बताएका छन् । आकाशले फिल्म छाडेसँगै उनको ठाउँमा अभिनेता पल शाह भित्रिएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच कागजी सम्झौता भएको हो ।

अब उनी फिल्ममा वीरको भूमिकामा हुनेछन् । फिल्ममा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरु भने यथावत छन् । पलले अभिनेत्री बर्षासँग रोमान्स गर्नेछन् । फिल्मलाई मिलन चाम्सले निर्माण र निर्देशन गर्दैछन् ।

अर्पण सापकोटा सह(निर्माता रहेको फिल्मको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मी खबर



प्रतिक्रिया दिनुहोस्

Screenshot