फागुन १७, काठमाण्डौ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको सत्य तथ्य छानविन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले दुर्घटनाको विषय यतिकै सेलाएर जाने हो कि भन्ने चिन्ता व्यक्त गरे ।
बुधवारको दुर्घटनाको विषयमा पनि छानविन समितिले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिन पोखरेलले आग्रह गरे ।
कार्यक्रममा सहभागि अन्य सरोकारवालाले पनि दुर्घटनाको विषयलाई सेलाउन दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।