चैत ११, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयका महासचिव विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको सुची धेरै लामो भएको दावी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले देश र जनताका लागि वर्तमान सरकारले कुनै कसर बाँकी नराखी काम गरिरहेको दावी गरेका हुन् ।
महासचिव पौडेलले नेकपाको एकता प्रक्रियामा पनि कुनै समस्या नै नरहेको जिकिर गरे । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध सुमधुर रहेको भन्दै पौडेलले पार्टीको सबै समस्या समाधान हुने बताए ।
“नेताहरुको बीचमा विमति र विग्रहको खोजी कसैले पनि नगरे हुन्छ । नेताहरुकोबीचमा मनमुटाव छैन ।” पौडेलले भने ।
सिके राउतसँग गरिएको ११ बुँदे सम्झौताले नेपालको विखण्डनकारीलाई सही मार्गमा ल्याएको पनि महासचिव पौडेलले बताए । उक्त सम्झौता देश र जनताको हितमा भएको दावी गर्दै पौडेलले सम्झौता पूर्णतः पालना हुने बताए ।