वैशाख १०, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले आफ्नो दल संसदमा नभए पनि अस्तित्व भने कायमै रहेको जिकिर गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मैनालीले केही कमी कमजोरीका बाबजुत पनि आफूले कम्युनिष्टको सिद्धान्त नछोडेको दावी गरे ।
आफूलाई कम्युनिष्ट भनेर दावी गर्ने सत्तारुढ दल नेकपाले भने असली रुपमा कम्युनिष्टको चरित्र देखाउन नसकेको आरोप लगाए । केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टी नाम मात्रैको कम्युनिष्ट भएको मैनालीको तर्क छ ।
सत्तारुढ दलले माक्र्सवादको गुदी र इमान त्यागिसकेको मैनालीको तर्क छ । “जवानीमा सबै स्याल घोर्ले नै हुन्छन्, कुनै बेला जंगबहादुर राणा पनि घोर्ले नै थिए । कांग्रेस पनि एक जमानामा दुई तिहाईको पार्टी थियो ।”
राम्रो काम गर्न नसक्दा अहिलेको नेकपा पनि कुनै बेला फेरी कमजोर बन्ने मैनालीको तर्क छ ।