वैशाख १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अहिलेको अवस्थामा जनताका लागि राष्ट्रिय जागरण अभियान आवश्यक रहेकाले सुरु गर्न लागिएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता महतले केपी ओली नेतृत्वको सरकारको गलत काम र कांग्रेसको इतिहास सम्झाउनका लागि अभियान आवश्यक रहेको महतको तर्क छ ।
२ तिहाई बहुमतको सरकारले एक वर्षमा अपेक्षाकृत रुपमा काम गर्न नसकेको कुरालाई जनतामाझ पुर्याउने महतको भनाई छ ।
पार्टीभित्र आन्तरिक रुपमा विभाजित भए पनि जनतामाझ जाँदा एकजुट भएर जाने महतले बताए ।
जागरण अभियानले जनतालाई हौसला प्रदान दिन सक्नुपर्नेमा उनले जोड दिए । गएको चुनावमा पार्टीको आन्तरिक समस्याले नै पराजित हुनुपरेकाले अबका दिनमा त्यस्ता समस्या समाधान गर्नुपर्ने महतको ‘सुझाब छ ।
कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा पुगेपछि पार्टी सुधारको काम हुन नसकेको महतको दावी छ । देउवाले पार्टीलाई एकतावद्ध बनाउन पनि नसकेको प्रतिपक्षीको भूमिका पनि प्रभावकारी बनाउन नसकेको महतको आरोप छ ।
देउवाले दिने कतिपय अभिव्यक्तिप्रति महतले असन्तुष्टी जनाउँदै वौद्धिकता र हैसियत नै कमजोर रहेको कटाक्ष गरे ।