Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा १२० लाई रोजगारी



पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । सो कार्यक्रममार्फत स्थानीय तहमा रहेका १२० बेरोजगार युवालार्ई रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२० जनाले एक महीनाको अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक रु ५१७ ज्याला रहेको गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । युवाले रिब्दीकोट गाउँपालिकाको जलेश्वर, पालुङ, ठिमुर क्षेत्रमा रही वृक्षरोपण, गह्रा सुधार, बाटो निर्माणलगायतका काममा आजदेखि नै खटिएका छन् ।
गाउँपालिकाले जलेश्वर मन्दिर क्षेत्रमा जडीबुटी उद्यान बनाउने योजना बनाएको छ । मन्दिर क्षेत्रमा १० हजार टिमुर, दालचिनी र कपाललगायतका जडीबुटी लगाउने कार्यक्रम रहेको छ ।
बेरोजगार युवाका लागि साउनदेखि आवेदन परेका सबैलाई रोजगारी प्रदान गरिनेछ ।
रोजगार पाउने व्यक्तिलाई आवश्यक सामग्रीसमेत पूर्वउद्योगमन्त्री तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेय, प्रदेशसभा सदस्य वीरबहादुर राना, रमा घर्ती, पूर्वसांसद यादवबहादुरले हस्तान्तरण गर्नुभयो ।
युवालाई आवश्यक प्राथमिक उपचार र झोलालगायतका सामग्री हस्तान्तरण गरिएको छ ।
गाउँमै रोजगार पाएपछि स्थानीयस्तरमा बेरोजगार रही बसेका युवा खुशी बनेका छन् । पहिलो चरणमा रिब्दीकोट गाउँपालिकाका ५, ६ र ७ नं वडाका बेरोजगार युवाले रोजगार पाउन सफल भएका हुन् ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot