Logo

बैठकमा ओलीले युरोप डायरी सुनाए, नेताहरु ट्वाँ !



काठमाडौं, ७ असार । आज साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । महत्वपूर्ण विषयमा छलफल गर्न डाकिएको सचिवालय बैठक खास एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएको बुझिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न भएको युरोप भ्रमणबारे नेताहरुसँग यात्रा संस्मरणजस्तो सुनाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटरमा नेताहरु एजेण्डा केन्द्रित भएर छलफलमा जुटेको भएपनि अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको डायरी सुनाएका थिए ।

पार्टीको राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल हुने भनेर नेताहरुले यसअघि नै सुनाएका थिए । तर, मुख्य विषयमा छलफल नै नगरी ओलीले अन्य विषयमा समय व्यतित गरेपछि सचिवालयका अन्य नेताहरुलाई ओलीको कुरा सुन्नुबाहेक अरु कुनै विकल्प नै थिएन ।

ओलीले बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तादेखि राजकुमार ह्यारीसँगको आफ्नो भेटवार्ता र कुराकानी आजको बैठकमा नेताहरुसँग सेयर गरेका थिए । आजको बैठक एजेण्डामा प्रवेश नै नगरी सम्पन्न भएकोले अर्को बैठक चाँडै बस्ने भनिएको छ । तर, आगामी बैठकको लागि गृहकार्यसहित बस्ने सहमती भएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । गृहकार्यसहित बैठक बस्ने भनिएकोले अर्को बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot