Logo

राजिव झा को हुन् ? नेपालमा चिनियाँ गतिविधि बढ्दो



काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि बढ्दो छ । नेपालको राजनीतिमा त्यति चासो नदिने चीन पछिल्लो समय आफूलाई ‘फ्रन्ट’ मा राखेर अघि बढिरहेको छ । नेकपा नेतृत्वको सरकार आएसँगै चीन–नेपालबीच सुमधुर सम्बन्ध हुने अपेक्षा गरिएको थियो ।

तर, चिनियाँ उच्च नेतृत्व तहले अहिलेको सरकारलाई विश्वास भने गरिहालेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा चीनसँग सुमधुर सम्बन्ध बनाएका थिए । दोस्रो कार्यकालको सुरुवात यता ओलीले चीनको मन जित्न सकेका छैनन् । यो बीचमा चीनबाट उच्चस्तरीय तहको भ्रमण हुने पनि भनिएको छ । तर, तत्काललाई चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने सम्भावना टरेको छ ।

चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित …सियान साउथ एशियन स्टडिज सेण्टर’ को सोमबार उदघाटन गर्दै नेकपा महासचिव विष्णु पौडेलसहित । तस्वीर : सौजन्य सियान विश्वविद्यालय

नेपाल–चीन सम्बन्धलाई चलायमान बनाउन पछिल्लो समय चाईना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक राजिव झा सक्रिय छन् । नेपालमा मात्रै होईन, उनले भारतसँग नाका जोडिएको तराई–मधेशमा पनि चिनियाँ गतिविधि सक्रिय बनाएका छन् । उनले पछिल्लो समय आफूलाई जनकपुरमा केन्द्रित बनाएर सक्रियता बढाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उच्च तहका नेताहरुसँग राम्रो हिमचिम भएका झाले चिनियाँ प्रतिनिधिहरुलाई पनि बेला–बेला नेपाल भ्रमण गराउँदै आएका छन् । नेकपाभित्र उनको प्रायः सबै शीर्ष नेताहरुसँग राम्रो सम्बन्ध छ । खासगरी विष्णु पौडेलसँग उनको घनिष्ठ सम्बन्ध छ । त्यस्तै, बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँगपनि उतिकै सुमधुर सम्बन्ध छ । चीनको विश्वासपात्र भएकै कारण उनी नेपालमा परिचित छन् ।

केही समय पहिले झा जनकपुरमा विभिन्न कार्यक्रममा व्यस्त थिए । उनले त्यतिवेला भनेका थिए,‘चीनले तराई–मधेशमा सामाजिक–आर्थिक विकासका लागि सहयोग गर्न तत्पर रहेको छ ।’ त्यतिमात्रै होईन, उनले चीनप्रतिको तराई–मधेशको सोचाई र बुझाई धेरै फरक रहेकाले विभिन्न भ्रमहरुलाई चिर्न आवश्यकता रहेको पनि औंल्याएका थिए ।

डा. झाको गृहजिल्ला धनुषा हो । विगत दुई दशक देखि चीनमा बस्दै आएका डा. झाले राजनीतिक तथा सामाजिक रुपमा समेत सक्रियता देखाउँदा धेरै उनलाई चीनको विश्वासपात्रको रुपमा लिएका छन् । उनले राजपा नेपाल र समाजवादी पार्टी, नेपालका विभिन्न नेतागणलाई औपचारिकरुपमै चीन भ्रमण गराईसकेका छन् ।

चीनको सान्सी प्रान्तले झालाई नेपालका लागि ‘नागरिक दूत’ नियुक्त गरिसकेको छ । नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन-नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सियान सहरको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत झालाई सियान प्रान्तीय सरकारको विदेशमामिला सम्बन्धी कार्यालयमार्फत नियुक्ति दिइएको भनिएको छ ।

झा उक्त पदमा नियुक्त भएसँगै सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनापनि भैसकेको छ । यसले पनि के देखाउँछ भने झा र नेकपा महासचिव विष्णु पौडेलबीचको सम्बन्ध धेरै घनिष्ठ छ । चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले बुटवल उपमहानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको छ । Photo Source: LIVEMANDU

 



प्रतिक्रिया दिनुहोस्

Screenshot