Logo

जनप्रतिनिधि धमाधम विदेश पलायन



काठमाण्डौ । गाउँका समस्या समाधान गर्छु र गाउँको विकास गर्छु भन्दै जनतासँग भोट मागेका वडाध्यक्षहरु सुटुक्क विदेश पलायन हुन थालेका छन् । आफ्नै नगर वा गाउँलाई समेत जानकारी नगराइ कोहि वडाध्यक्ष डिभि परेर अमेरिका भासिएका छन् भने कोहि कमाउनका लागि इपिएस पास गरेर कोरिया हानिएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष जगतमान घिसिङ डीभी परेर अमेरिका भासिएका छन् । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते उनी अमेरिका गएका हुन् । राजीनामा नदिई उनी अमेरिका जाँदा स्थानीयको भने काम नै रोकिएको छ ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष बमबहादुर घले पनि विदेश पलायन भएका छन् । उनी कामका लागि इपिएस पास गरेर गएको साउन महिनामा कोरिया गएका हुन । उनी कोरिया गएसँगै वडाका कतिपय काम अड्किएका छन् । राजीनामा नै नदिई पैसा कमाउन वडाध्यक्ष विदेश गएपछि नगरपालिकाले समेत कुनै कदम चाल्न सकेको छैन् ।

यो विषय गएको मंगलबार अर्थात भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सांसद राजेन्द्रप्रसाद गौतमले कुरा उठाएसँगै बाहिर आएको हो । वडाध्यक्षले रोजगारीको लागि देशै छोडेर विदेश गएपछि उक्त पद खाली हुन्छ की हुन्न? भनेर प्रश्न गरेका थिए ।

कानुनतः वडाध्यक्षको हकमा राजिनामा गरेमा, मृत्यु भएमा वा जिसस प्रमुखमा निर्वाचित भएको खण्डमा मात्रै सो पद खालि हुन्छ । यो बाहेकको अवस्थामा सो पद रिक्त भएको मानिदैन् । र, यस्तो अवस्थामा सरकारले जानकारी गराएमा मात्रै सो क्षेत्रमा चुनाव गराउन सकिने निर्वाचन आयोगका प्रवक्ता शंखरप्रसाद खरेल बताउँछन् ।

यसरी वडाध्यक्षहरु गैर जिम्मेवार बनेर विदेश पलायन हुँदा स्थानीयले भने सास्ती खेप्नु परेको छ । राजीनामा समेत नदिई पद ओट्ने गरि विदेश कमाउन र उतै बस्न हिडेका जनप्रतिनिले जनताको मतको उपेक्षा त गरेका छन् नै दुनियाँ समेत हसाएका छन् ।



प्रतिक्रिया दिनुहोस्