Logo

पूर्व राजा ज्ञानेन्द्र शाहबाट त्रास कि शाहलाई त्रास



काठमाडौं, भदौ २६ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्तारुढ दलका नेताहरुले नागार्जुनबाट निकाल्ने चेतावनी दिन थालेका छन् । शाहले राजनीतिक सक्रियता देखाएको भन्दै नेताहरले चेतावनीपूर्ण भाषा प्रयोग गरिरहेपछि राजनीतिक तरंग आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शाहलाई चुप लागेर बस्ने भने । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले शाहलाई छाडिएको नागार्जुन दरबारबाट समेत निकाल्ने चेतावनी दिए । त्यसपछि नेकपाका अन्य नेताहरुबाट यस्तै चेतावनी आयो । एकपछि अर्को गरी चेतावनी आउनुमा केही न केही कारण लुकेको ठम्याई छ ।

पूर्व राजाले राजसंस्था फर्काउन सक्रियता देखाएको सूचनाका आधारमा सत्ताँरुढ नेताहरु चर्को स्वरले बोलिरहेका हुन् । पूर्व राजाको बारम्बारको थाइल्यान्ड भ्रमण रहस्यमी बनेको छ । उनले त्यहाँ राजनीतिक उद्देश्यले भेटघाट गरेको सूचना सरकारलाई पुगेको छ । एक महिनाको बीचमा दुईपटक शाह बैंकक पुगेर तीन हप्ता बसेर आएका थिए ।

देशमा राजनीतिक दलहरुप्रति वितृष्णा बढिरहँदा पूर्व राजाले त्यसको फाइदा लिन खोजिरहेका छन् । उनको विगतको भारत भ्रमण अर्थपूर्ण छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शाहले भेटघाट गरे । योगी नेपालमा हिन्दु राष्ट्र चाहन्छन् । उनी विगतमा नेपाल आएर पूर्व राजासँग एउटै मञ्चमा उभिएर राजसंस्थाको आवश्यकता औल्याएका थिए ।

पूर्व राजाले देश दौडाहा पनि गर्दैछन् । उनले समर्थकको मन जित्न र माहोल तताउन त्यसो गर्न लागेपछि सत्तारुढ दलको पक्षबाट चेतावनी आएको हो । अहिले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्तापक्षबाट त्रास छ भने सत्तापक्षलाई उनीबाट त्रासको स्थिति छ । कतै वितृष्णालाई टेकेर राजसंस्था फर्कने हो कि भन्ने त्रास उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot