Logo

स्वास्थ्यचौकी भवन निर्माण



दमौली, ७ असोज । सङ्घीय सरकारमार्फत जिल्लामा छ स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका छन् । जिल्लाका ग्रामीण भेगमा रहेका जनतालाई सेवाप्रवाह गर्ने उद्देश्यसहित सङ्घीय सरकारमार्फत विनियोजित बजेटबाट छ स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका हुन् ।

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–१ स्थित किहुँ, व्यास नगरपालिका–११ तनहुँसुर, व्यास–८ रिस्ती, भीमाद–५ माझकोट, व्यास–१३ पोखरीभञ्ज्याङ र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

निर्माण सम्पन्न भएकामध्ये किहुँ स्वास्थ्यचौकीमा रु ८७ लाख, तनहुँसुर स्वास्थ्यचौकीमा रु एक करोड ३४ लाख, रिस्ती स्वास्थ्यचौकीमा रु एक करोड २७ लाख, माझकोट स्वास्थ्यचौकीमा रु एक करोड १५ लाख, पोखरीभञ्ज्याङ स्वास्थ्यचौकीमा रु ८१ लाख र काहुँ शिवपुर स्वास्थ्यचौकीमा रु एक करोड १७ लाख खर्च भएको एकाइले जनाएको छ ।

त्यसमध्ये किहुँ, तनहुँसुर, रिस्ती, माझकोट र काहुँशिवपुरको भवन हस्तान्तरण भइसकेका र पोखरीभञ्ज्याङ भवन हस्तान्तरण हुन बाँकी रहेको एकाइ प्रमुख भण्डारीले जानकारी दिए। एकाइमार्फत नै निर्माण भइरहेको यान्त्रिक कार्यालयको भवन र दमौली सभाहलको भवन ९०-९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । -रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot