Logo

कमल थापाको आरोप : कांग्रेस प्रचण्डको भरिया



काठमाडौं, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाएका छन् ।

शनिबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेण्डा छाडेर काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाए ।

अध्यक्ष थापाले भने,“काङ्ग्रेसले प्रचण्डको भरिया भएर उसको एजेण्डा बोकेर हिँडेकाले देशमा अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण भइरहेको छ ।”

नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले ठूला दलका केही वरिष्ठ नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा सङ्कट आएको टिप्पणी गरे ।

अध्यक्ष थापाले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने उल्लेख गर्दै राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको तथा यो कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको अभियान भएको बताए । थापाले भने, “माओवादीले गलत बिरुवा रोप्यो, धतुरो रोपेर आँप फल्दैन, अहिले नेकपा मात्रै होइन काङ्ग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot